close

नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान

टेकपाना टेकपाना

बैशाख ५, २०७८ १८:१२

नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान

काठमाडौं । लैङ्गिक समानताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको दुई अभियान ‘सेल्फी विथ डटर’ तथा ‘डटर्स नेम प्लेट’ ले भारतमा धेरै ख्याती कमायो ।

महिला सशक्तिकरण तथा लैङ्गिक समानताको मूल मर्म बोकेका यी दुई अभियानलाई हाल पूर्व राष्ट्रपति स्वर्गीय प्रणव मुखर्जीको फाउण्डेसनले समेत अगाडि बढाइरहेको छ ।

नेपाल र भारतबीच पहिलेदेखि नै दरिलो सम्बन्ध रहिआएको कारण दुई मुलुकबीच एक अर्काले उठाउने नारा तथा अभियानले एकअर्कोमा साँस्कृतिक परिवर्तन ल्याउन सघाउ पुर्‍याउँदै आइरहेको छ ।

यही कुरालाई मध्यनजर गर्दै अब नेपालले पनि यी दुई अभियानलाई औपचारिक रुपमा अगाडि बढाउँदै छ ।

यसबीच हालै नेपाल इन्टरनेट फाउण्डेसनका संस्थापक विक्रम श्रेष्ठ र सेल्फी विथ डटर, भारतका निर्देशक सुनिल जग्लानबीच एमओयूमा हस्ताक्षर भएको छ ।

उक्त अवसरमा यी दुवै महत्वपूर्ण अभियानलाई नेपालीहरुले पनि उत्तिकै रुचाएको र यस कुरालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले समेत प्रशंसा गरेकाे सुनिल जग्लानले सुनाए ।

डटर्स नेम प्लेट अभियानलाई हाल हरियाणा लगायत भारतका विभिन्न राज्यहरुले समेत अगाडि बढाइरहेका छन् ।

दुवै अभियानबाट प्रभावित भएपछि फाउण्डेसनका संस्थापक श्रेष्ठले जग्लानलाई आफैं भेटेर एमओयू हस्ताक्षर गर्दै दुवै अभियानलाई नेपालमा पनि यहीँको नियमभित्र बसेर अगाडि बढाउने बताएका प्रतिबद्धता जाहेर गरेका हुन् ।

फाउण्डेसनले अभियान अगाडि बढाउने क्रममा विभिन्न इभेन्ट सिरिजसमेत आयोजना गरेर लैजाने संस्थापक श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाल इन्टरनेट फाउण्डेसन अर्थात् एनआईएफले समाज, सामग्री, अनुसन्धान तथा प्रविधिका क्षेत्रमा भएका खाँडललाई पुर्ने अवधारणा तथा कार्यक्रमहरुलाई सहयाेग गर्दै आइरहेको छ ।

फाउण्डेसनले इन्टरनेट तथा सञ्चारको प्रयोगलाई बढाउन विभिन्न व्यक्ति, समुदाय, सरकारी तथा गैरसरकारी संस्था लगायतसँग मिलेर काम गरिरहेको छ ।

साथै उसले इन्टरनेट गभर्नेन्स, डिजिटल शिक्षा तथा सामाजिक सशक्तिकरणका लागि योगदान समेत दिँदै आइरहेको छ । हाल फाउण्डेसनले यी दुई अभियानमार्फत देशमा महिलाहरुको सशक्तिकरणलाई बढाउने उद्देश्य लिएको छ ।

नेपालमा पनि ९ जूनलाई ‘सेल्फी विथ डटर डे’ मनाउन श्रेष्ठले सुनिल जग्लान र उनको टिमलाई निमन्त्रणा दिएका छन् । नेपालमा पनि यो अभियान निकै लोकप्रिय हुने श्रेष्ठको भनाइ छ ।

नेपालमा यस अभियानलाई वुमन आन्टप्रिनियर्स असोसिएशन नेपाल र जेसीआई बुढानिकलण्ठले सहयोग गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१