काठमाडौं । अमेजनको नक्कली प्रडक्ट रिभ्युमा संलग्न दुई लाख व्यक्तिको पहिचान एउटा ओपन डेटाबेसमार्फत खुलासा भएको छ । अमेजनका सेलरहरुले पैसा र निःशुल्क आइटम दिने लोभमा ती व्यक्तिहरुले उनीहरुको प्रडक्टमा आकर्षक तर, झुठा रिभ्यु दिएका थिए ।
हाल विश्वभरका ठूला ईकमर्श जायन्टहरु यस्तै किसिमका फेक रिभ्युको समस्यासँग जुधिरहेका छन् । उपभोक्ता हित र अधिकारमा यसले ठूलो खलल पारेको भन्दै बेलायत, संयुक्त राज्य अमेरिकालगायत मुलुकका नियामकहरुले यसलाई नियन्त्रण गर्न बेलाबेला कम्पनीहरुलाई निर्देशनसमेत दिँदै आइरहेका छन् ।
अमेजनले यस्ता क्रियाकलापमाथि भिन्नै तरिकाले निगरानी गरिरहेको बताए पनि पछिल्लो समय भने एउटा ओपन इलास्टिक सर्च सर्भरमा यस्ता स्क्यामका केही आन्तरिक कामकाराबाहीको खुलासा भएको हो ।
हिजो बिहीबार सेफ्टी डिरेक्टिभ्सका अनुसन्धानकर्मीहरुले अनलाइनमा सार्वजनिक रुपमा उक्त सर्भरले ७ जीबीको ओपन डेटाबेस लिक गरेको थियो । जसमा अहिले फैलिरहेको फेक रिभ्यु स्क्यामसँग जोडिएका एक करोड ३० लाख रेकर्डहरु समावेश थिए ।
उक्त सर्भर कसको हो भनेर हालसम्म केही खुलासा भएको छैन । तर त्यसमा लेखिएका म्यासेजहरु चिनियाँ भाषामा लेखिएको हुँदा त्यो चीनबाटै आएको हुनसक्ने अनुमान गरिएको छ ।
सो डेटाबेसमा अमेजन मार्केटप्लेसका भेण्डर र प्रयोगकर्ता गरी करिब दुईदेखि अढाई लाख व्यक्तिहरुको रेकर्ड छन् ।
यसअन्तर्गत उनीहरुको युजर नेम, ईमेल एड्रेस, पेपाल एड्रेस, अमेजन प्रोफाइलका लिङ्क, ह्वाट्सएप तथा टेलिग्राम नम्बर, फेक रिभ्यु दिन र फाइदा लिन तयार ती सेवाग्राही र ट्रेडरहरूबीचको डाइरेक्ट म्यासेज सबै डेटाबेसमा खुलाइएकाे छ ।