काठमाडौं । बिटक्वाइनबाट टेस्ला कार अबदेखि किन्न नसक्ने भन्दै एलन मस्कले ट्वीट गरेपछि लगातार बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीको भाउ घटिरहेको छ ।
मस्कको निर्णयले क्रिप्टोको भाउ घटेपछि धेरैको अनुमान छ– मस्कले आफूसँग भएको बिटक्वाइन बिक्री गरे र यसको भाउ घटाउनको लागि यस्तो निर्णय लिए ।
यस्ता अनुमान चिर्न एलन मस्कले ट्वीट गर्दै स्पष्टिकरण दिएका छन् । ‘टेस्लाले आफूसँग भएको कुनै पनि बिटक्वाइन बेचेको छैन,’ ट्वीटरमा मस्कले रिप्लाई लेखेका छन् ।
ट्वीटरका एक प्रयोगकर्ताले टेस्लासँग भएको बिटक्वाइन बेचेर यसको मूल्य घटाउन टेस्लाले बिटक्वाइन अस्वीकार गर्ने निर्णय गरेको संकेत गर्दै ट्वीट गरेका थिए ।
ती प्रयोगकर्तालाई रिप्लाइ दिंदै मस्कले टेस्लासँग भएको कुनै पनि बिटक्वाइन नबेचेको जवाफ दिएका हुन् ।
Bitcoin is down 20% since @ElonMusk started shitposting.
‘टेस्लाले आफूसँग भएको बिटक्वाइन बिक्री गरेको थाहा भएपछि आगामी समयमा बिटक्वाइनको मूल्य घट्नेछ’ भन्दै क्रिप्टोह्वेल नामक एक अकाउन्टबाट गरिएको ट्वीटमा मस्कले एक शब्दको रिप्लाई दिएका थिए– होला ।
मस्कको यो ट्वीट रिप्लाईले धेरैलाई टेस्लाले आफूसँग भएको बिटक्वाइन बिक्री गरेको हुनसक्ने लागेको थियो । यो रिप्लाइपछि बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीको मूल्य घटेको थियो ।