काठमाडौं । विश्वभरका मोबाइल सेवाप्रदायक कम्पनीहरूको छाता संगठन जीएसएमएले ६ गिगाहर्ज स्पेक्ट्रमको लाइसेन्स नदिइए फाइभजीको भविष्य जोखिममा हुने चेतावनी दिएकाे छ ।
फाइभजीको पूर्ण गति र क्षमता ६ गिगाहर्जको मिड–ब्यान्ड स्पेक्ट्रममा निर्भर रहने बताउँदै जीएसएमएले मंगलबार सरकारहरूलाई ६ गिगाहर्जको स्पेक्ट्रमको लाइसेन्स व्यवस्था गर्न आग्रह गरेको हो ।
जीएसएमएकाे प्रतिवेदन अनुसार अझै पनि विभिन्न देशका सरकारले ६ गिगाहर्ज स्पेक्ट्रममा लाइसेन्सको व्यवस्था गरेका छैनन् । चीनले फाइभजीका लागि ६ गिगाहर्ज ब्यान्डमा सबै १२०० मेगाहर्जको प्रयोग गर्ने निर्णय गरेकाे छ ।
युरोपेली देशहरूले भने ६ गिगाहर्ज ब्यान्ड विभिन्न प्रयाेजनमा उपलब्ध गराएका छन् । यसअन्तर्गत माथिल्लो भाग फाइभजीका लागि र नयाँ ५०० मेगाहर्ज ट्रान्च वाईफाईको लागि उपलब्ध गराइएकाे छ ।
अफ्रिका र मध्य पूर्वका केही देशहरुले पनि यस्तै अभ्यास अपनाउँदै छन् । त्यस्तै संयुक्त राज्य अमेरिका र अन्य धेरै ल्याटिन अमेरिकाले याे स्पेक्ट्रम वाईफाई र अन्य लाइसेन्सविहीन टेक्नोलोजीहरुलाई प्रदान गर्ने याेजना अघि सारेका छन् ।
जीएसएमएका अनुसार ६ गिगाहर्ज ब्याण्ड सामाजिक समावेशीकरणका लागि कनेक्टिभिटी प्रदान गर्ने मोबाइल नेटवर्क अपरेटरहरूको लागि मात्र नभई स्मार्ट सहर, यातायात र कारखानाहरूको लागि डाटा गति र क्षमता पुर्याउन पनि आवश्यक छ ।
फाइभजी नेटवर्कलाई यसको पूर्ण क्षमता पुग्न मिड–ब्यान्ड स्पेक्ट्रमको २ गिगा हर्ज आवश्यक पर्ने अनुमान गरिएको छ ।
‘फाइभजीसँग विश्वको जीडीपी २.२ ट्रिलियन डलरले बढाउन सक्ने ताकत छ,’ जीएसएमएका मुख्य नियामक अधिकारी जोन गियोस्टीले भने, ‘तर यदि पर्याप्त ६ गिगाहर्ज स्पेक्ट्रम फाइभजीका लागि उपलब्ध छैन भने याे वृद्धि हासिल गर्न मुस्किल छ ।’
यस महत्वपूर्ण पूर्वाधारमा व्यापक र दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न स्पष्टता र निश्चितता आवश्यक रहेकाे उनकाे भनाइ छ ।0
जीएसएमएले कम्तीमा ६४२५–७१२५ मेगाहर्ज फाइभजी लाइसेन्सको लागि उपलब्ध हुनपर्ने र ब्याकहल सेवाहरू सुनिश्चित गर्नुपर्नेमा जाेड दिएकाे छ ।
उसका अनुसार देशहरूको आवश्यकता, निर्वाध प्रयोग र फाइबर फुटप्रिन्टमा निर्भर रहँदै ६ गिगाहर्ज रेन्जको तल्लो आधा भागको ५९२५–६४२५ मेगाहर्ज लाइसेन्स छुट आधारमा टेक्नोलोजी न्युट्रालिटीका साथ खोल्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
