काठमाडौं । रिलायन्स इन्डिया लिमिटेड अर्थात रिलायन्स जियोका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले गुगलसँगको साझेदारीमा गुगल-जियो स्मार्टफोनको घोषणा गरेका छन् । ४४औं वार्षिक साधारण सभामाको अम्बानीले भारतका लागि सस्तो फाइभजी फोनको रुपमा उक्त फोन बनाउन लागिएको बताएका हुन् ।
यो स्मार्टफोन आउँदो सेप्टेम्बरदेखि भारतमा उपलब्ध हुनेछ । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै अम्बानीले भारतमा सबैभन्दा सस्तो फोरजी भएको नाताले जियो डिजिटल कनेक्सनलाई प्रजातान्त्रिकिकरण गर्ने सुत्राधार भएको बताए ।
यद्यपि भारतमा अझै ३० करोड जनता अहिले पनि टुजी प्रयोग गर्दै आएका छन् । यस्तोमा नयाँ स्मार्टफोनले भारतलाई टुजी मुक्त बनाउने अम्बानीको दाबी छ । मुकेश अम्बानीका अनुसार जियो भारतकै पहिलो पूर्ण फाइभजी सेवा सुरु गर्नका लागि तयार छ ।
उनको कम्पनीले हालै मुम्बईमा एक जीबीपीएस गतिको फाइभजी परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यसका साथै जियोले भारत सरकारबाट फाइभजी परीक्षणका लागि स्पेक्ट्रमका साथै अनुमति समेत पाएको छ ।
जियोले भारतलाई टुजी मुक्त तथा फाइभजीयुक्त देश बनाउने प्रण गरेको छ । अम्बानीले फाइभजी इको सिस्टमका कारण भारत विश्वकै हब बन्नेछ । अम्बानीको भनाइमा रिलायन्स जियो डेटा खपतको मामिलामा विश्वकै दोस्रो नम्बरको नेटवर्क बनिसकेको छ ।
रिलायन्स जियोको नेटवर्कमा प्रति महिना ६ अर्ब ३० करोड जीबी डेटा खपत हुने गर्दछ । गत वर्षको तुलनामा यो ४५ प्रतिशत बढी हो । गुगल-जियोको अपकमिङ स्मार्टफोन जियो फोन नेक्स्टको मूल्य भने खुलाइएको छैन ।
तर रिलायन्स जियोका अध्यक्ष अम्बानीले यो फोन भारतको मात्र नभएर विश्वकै सबैभन्दा सस्तो फाइभजी स्मार्टफोन हुने दाबी गरेका छन् । उनका अनुसार जियो फोन नेक्स्ट भारतीयहरुको आवश्यकताको आधारमा तयार पारिएको छ ।
जसबाट भारतलाई टुजी मुक्त देश बनाउने अम्बानीको महत्वाकांक्षा छ । यो फोन सबैभन्दा पहिला भारतीय बजारमै उपलब्ध हुनेछ । त्यसपछि भारत बाहेकका अन्य देशमा समेत बिक्रीका लागि उपलब्ध हुने बताइएको छ ।
जियो फोन नेक्स्टका प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न सक्नेछन् । एन्ड्रोइड अपरेटिङ सिस्टमका साथ आउने यो फोनमा गुणस्तरीय क्यामेरा समेत रहने बताइएको छ ।