close

अहिलेसम्म नेपालमा सबैभन्दा उत्कृष्ट र्‍याङ्किङको यूकेको आईटी कोर्स ग्लोबल कलेजकै होः प्रिन्सिपल

टेकपाना टेकपाना

असार १, २०८३ ६:२८

अहिलेसम्म नेपालमा सबैभन्दा उत्कृष्ट र्‍याङ्किङको यूकेको आईटी कोर्स ग्लोबल कलेजकै होः प्रिन्सिपल

नेपालको सूचना प्रविधि (आईटी) शिक्षा क्षेत्र यतिबेला एउटा महत्त्वपूर्ण मोडमा छ । एकातिर नेपालको आईटी उद्योगले दक्ष जनशक्तिको अभाव झेलिरहेको छ भने, अर्कोतिर विश्वस्तरको डिग्री खोज्दै हजारौं सम्भावना बोकेका युवाहरू विदेशिरहेका छन् । जहाँ उनीहरू आफ्नो प्राज्ञिक सपना छाडेर सानातिना काममा अल्झिन बाध्य छन् । यही गम्भीर रिक्ततालाई महसुस गर्दै विगत दुई दशकदेखि शिक्षा क्षेत्रमा स्थापित ग्लोबल कलेज ग्रुप पनि आईटी शिक्षामा प्रवेश गरेको छ ।

ग्लोबल कलेज अफ टेक्नोलोजी (GCT) ले बेलायतको प्रतिष्ठित युनिभर्सिटी अफ हडर्सफिल्डसँगको साझेदारीमा ४८० क्रेडिटको चार वर्षे ब्याचलर्स डिग्री कार्यक्रम भित्र्याएको छ । टेफ गोल्ड रेटिङ प्राप्त विश्वस्तरको यो उत्कृष्ट पाठ्यक्रमलाई काठमाडौंमै ल्याएर, कलेजले नेपालमा आईटी प्रोफेसनल हुनुको अर्थ नै परिमार्जन गर्ने दाबी गरेको छ ।

यिनै विषयमा टेकपानाका लागि उष्मा अधिकारीले ग्लोबल कलेज अफ टेक्नोलोजीका प्रिन्सिपल डा. देवराज पनेरुसँग विस्तृत कुराकानी गरेकी छन् । डा. पनेरुले ट्रान्सनेसनल एजुकेसन, रोजगारीको ग्यारेन्टी पछाडिका भ्रम, ब्रेन ड्रेनको यथार्थ र करियरको दोबाटोमा उभिएका विद्यार्थीहरूका लागि महत्त्वपूर्ण सुझावहरू समेत दिएका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

तपाईंहरूले आईटी एजुकेसनको प्रतिस्पर्धी बजारमा ग्लोबल कलेज अफ टेक्नोलोजी स्थापना गर्नुभएको छ । यहाँ के पढाइ हुन्छ र यो कलेज अरू भन्दा कसरी फरक छ ?

यो एउटा महत्त्वपूर्ण प्रश्न हो । ग्लोबल कलेज अफ टेक्नोलोजी, ग्लोबल कलेज ग्रुपको २० वर्षे प्राज्ञिक इतिहासको जगमा खडा भएको संस्था हो । यसको मुख्य उद्देश्य भनेकै नेपालको आईटी शिक्षालाई ग्लोबल स्ट्यान्डर्डमा पुर्‍याउनु हो । हाम्रो आईटी बजार अझै पनि भर्जिन छ, जहाँ अन्तर्राष्ट्रिय स्तरमा बिक्न सक्ने जनशक्तिको उच्च माग छ । यो माग स्थानीय स्रोत र मापदण्डले मात्र पुरा गर्न सक्दैन ।

हामीले अहिले बीएससी अनर्स इन कम्प्युटर साइन्स विथ एआई एन्ड साइबर सेक्युरिटी र बीएससी अनर्स इन आईटी सुरु गरेका छौं । अरूभन्दा हाम्रो मुख्य भिन्नता भनेको क्रेडिट र युनिभर्सिटी हो । नेपालमा पाइने यूकेका डिग्रीहरू सामान्यतया ३६० क्रेडिटका हुन्छन् । तर हामीले हडर्सफिल्ड युनिभर्सिटीको ४८० क्रेडिटको ४ वर्षे कोर्स ल्याएका छौं । यो युनिभर्सिटी क्यूएस वर्ल्ड र्‍याङ्किङमा ५२४ औं स्थानमा छ र यसले अक्सफोर्ड युनिभर्सिटीकै स्तरको टेफ गोल्ड रेटिङ पाएको छ ।

तपाईंले ट्रान्सनेसनल एजुकेसन भन्ने शब्द धेरै प्रयोग गरिरहनु भएको सुनिन्छ । यो भनेको के हो र फ्याकल्टीले यसको मापदण्ड कसरी पुरा गर्छन् ?

ट्रान्सनेसनल एजुकेसन (TNE) भनेको विद्यार्थीले आफ्नो देशमै बसेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यक्रम, शिक्षण विधि र डिग्री प्राप्त गर्ने शैक्षिक मोडेल हो। विश्वव्यापीकरणको यो युगमा स्थानीय पाठ्यक्रम र स्रोतले मात्र युवाहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सक्दैन । ट्रान्सनेसनल एजुकेसन मोडेल अन्तर्गत हामी हडर्सफिल्ड युनिभर्सिटीको जस्ताको तस्तै कोर्स, प्राज्ञिक प्रक्रिया र मूल्याङ्कन प्रणालीलाई नेपालमै डेलिभर गर्छौं । यसको अर्थ कलेजका हरेक नियम र मापदण्डहरू यूकेकै स्तरमा कडाइका साथ लागु हुन्छन् ।

अन्तर्राष्ट्रिय मान्यता र डिग्री: विद्यार्थीले विदेशमा पढ्दा प्राप्त गर्ने सोही डिग्री र प्रमाणपत्र नेपालमै बसेर पाउँछन्, जसको मूल्य विश्वभरि समान हुन्छ।

गुणस्तरीय शिक्षा: विदेशी विश्वविद्यालयको कडा प्राज्ञिक मापदण्ड, भ्यालिडेसन (Validation) र बाह्य मूल्याङ्कन प्रणालीका कारण शिक्षाको गुणस्तर उच्च र भरपर्दो हुन्छ।

आर्थिक बचत: विदेश गएर पढ्दा लाग्ने चर्को ट्युसन शुल्क, बसोबास र जीवनयापनको खर्चको तुलनामा यो निकै कम लागतमा प्राप्त गर्न सकिन्छ।

विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता: स्थानीय पाठ्यक्रम भन्दा फरक, यहाँ विद्यार्थीहरूले विश्व स्तरका केस स्टडीहरू, अत्याधुनिक अनुसन्धान विधि र अन्तर्राष्ट्रिय बजार सुहाउँदो व्यावहारिक सीप सिक्ने अवसर पाउँछन्।

अन्तर्राष्ट्रिय एक्सपोजर: विशेष गरी अन्तर्राष्ट्रिय अनुभव भएका फ्याकल्टीहरू र विदेशी विज्ञहरूको प्रत्यक्ष निगरानीमा पढ्ने मौकाले विद्यार्थीको सोच र कार्यशैलीलाई 'ग्लोबल' बनाउँछ।

 

भविष्यमा विदेश जान चाहने विद्यार्थीका लागि क्रेडिट ट्रान्सफरको व्यवस्था कस्तो छ ?

यो हाम्रो अर्को विशेष सुविधा हो । यहाँ भर्ना हुनु भनेको सिधै हडर्सफिल्ड युनिभर्सिटीको विद्यार्थी हुनु हो । यदि कुनै विद्यार्थीले यहाँ दुई वर्ष पढेर बाँकी अध्ययन यूकेमै गएर पुरा गर्छु भन्यो भने, उसले सिधै आफ्नो क्रेडिट ट्रान्सफर गर्न सक्छ । यसका लागि उनीहरूले आईएलटीएस (IELTS) वा पीटीई (PTE) जस्ता महँगा र झन्झटिला परीक्षाहरू दिइरहनु पर्दैन । किनकि हाम्रो पढाउने र मूल्याङ्कन गर्ने माध्यम पहिल्यै यूके स्ट्यान्डर्डमा भइसकेको हुन्छ ।

यो प्रयोगात्मक अप्रोचले रोजगारी र उद्यमशीलतामा कसरी सहयोग गर्छ ? के तपाईंहरू जब (Job) को ग्यारेन्टी पनि दिनुहुन्छ ?

म प्रस्ट भन्छु, जसले १००% जब ग्यारेन्टी गर्छु भन्छ, त्यो बकबास हो । हामी ग्यारेन्टी गर्ने भनेको अवसर, प्लेटफर्म र उत्कृष्ट मेन्टरशिप हो । बजारमा रोजगारीको कमी छैन, तर विद्यार्थीको सोच र जबको प्रकृतिबिच तालमेल मिल्नुपर्छ । योग्य त विद्यार्थी आफैँ हुनुपर्छ ।

हामी विद्यार्थीलाई 'स्पून-फिडिङ' होइन, सशक्त बनाउन 'पुस-अप' गर्छौं । उनीहरूलाई डिजाइन थिंकिङ ल्याब र इन्क्युबेसन सेन्टरमा राख्छौं । उत्कृष्ट प्रोजेक्ट ल्याउने विद्यार्थीलाई स्थानीय आईटी इन्डस्ट्रीसँग जोडेर सिड फन्डिङ र कोल्याबरेसनको वातावरण मिलाइदिन्छौं । साथै, हडर्सफिल्डका प्रोफेसरको एउटा रेकमेन्डेसन लेटरले विश्व बजारमा प्रधानमन्त्रीको सिफारिसभन्दा बढी काम गर्छ । त्यो स्तरको विश्वव्यापी मान्यता नै हाम्रा विद्यार्थीको सबैभन्दा ठुलो शक्ति हो ।

हाम्रा उत्कृष्ट विद्यार्थीहरू विदेश पलायन हुने तितो यथार्थ छ । उनीहरूलाई स्वदेशमै टिकाउन कस्तो योजना बनाउनु भएको छ ?

हाम्रा युवाहरू बाहिर गएर भाँडा माझ्ने र पढाइ छाड्ने अवस्था देख्दा दु:ख लाग्छ । यही 'ब्रेन ड्रेन' रोक्न हामीले यूकेकै क्याम्पसको वातावरण नेपालमै ल्याएका हौं । उनीहरू अनुभवको लागि केही समय विदेश गए पनि पछि नेपाल नै फर्किनेछन् ।

अहिले विश्वव्यापी परिस्थिति फेरिएको छ । जापानले भिसा कडा बनाएको छ भने अमेरिकामा घरको किस्ता तिर्न नसकेर मानिसहरू फर्कने अवस्थामा छन् । यसको ठिक उल्टो, नेपालमा सरकारले स्टार्टअपमा लगानी बढाउँदैछ र गैर-आवासीय नेपाली (NRN) हरूले अर्बौं लगानी गरिरहेका छन् । यस्ता ठुला प्रोजेक्टमा हजारौं आईटी एक्सपर्टहरू चाहिन्छन् । अवसरहरू हाम्रै देशभित्र बढिरहेका छन् । हामीले केवल आफूलाई तयार राख्नुपर्छ र गर्व गर्न सिक्नुपर्छ ।

कक्षा १२ को नतिजा पर्खिरहेका विद्यार्थी र अभिभावकलाई विषय छनोटमा के सुझाव दिनुहुन्छ ?

मेरो पहिलो सुझाव अभिभावकहरूलाई के छ भने आफ्ना छोराछोरीमाथि आफ्नो 'इगो' नथोपर्नुस् । आफूले पीएचडी गरेको भन्दैमा बच्चाले पनि त्यही गर्नुपर्छ भन्ने छैन, उनीहरूको रुचिलाई सम्मान गर्नुहोस् ।

यदि साँच्चै ठुलो अन्योल छ भने विज्ञको काउन्सलिङ लिनुहोस् । बजारको माग राम्रोसँग बुझेको आधारमा म के भन्छु भने, यदि कुनै विद्यार्थी कन्फ्युज्ड छ भने निर्धक्क भएर आईटी रोज्दा हुन्छ । आईटीको तत्काल उपयोगिता छ । यसले कुनै पनि विद्यार्थीलाई कहिल्यै बेरोजगार बस्न दिंदैन र पेट भोको राख्दैन ।

अन्त्यमा, जीसीटीको आगामी योजना र भर्नाको अवस्थाबारे केही भन्नुहुन्छ कि ?

हामी छिट्टै मास्टर्स डिग्रीसहित अन्य कोर्सहरू थप्ने योजनामा छौं । अहिले सेप्टेम्बर इन्टेकको लागि एड्मिसन चलिरहेको छ । जसमा गुणस्तर कायम राख्न जम्मा १६० जना विद्यार्थी मात्र लिंदैछौं । जसलाई ४०-४० जनाको सेक्सनमा विभाजन गरिनेछ ।

मेरो अन्तिम अनुरोध यही छ कि कतै पनि ३ वर्षे ब्याचलर्स डिग्री पढेर चित्त नबुझाउनुस् । ग्लोबल स्ट्यान्डर्ड भनेको ४ वर्षे डिग्री हो र त्यसैले हामीले यो कोर्स ल्याएका हौं । अगस्टभित्र भर्ना बन्द हुँदैछ । अहिले सयौं विद्यार्थीलाई नि:शुल्क तालिम पनि दिइरहेका छौं । कलेज भिजिट गर्नुहोस् र ग्लोबल आईटी एक्सपर्ट बन्ने आफ्नो यात्रा सुरु गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: असार १, २०८३ ६:२८