काठमाडौं । क्वालकमले हालै नयाँ फ्ल्यागशिप चिपसेट स्न्यापड्रागन ८८८ प्लस सार्वजनिक गरेको छ । यो नयाँ प्लेटफर्मसहित केही स्मार्टफोन ब्राण्डले आफ्ना उत्पादन ल्याउने घोषणा गरिसकेका छन् ।
यीमध्ये केही समयअघि मात्र ह्वावेबाट छुट्टिएको अनर ब्राण्डले पनि यो चिपसेटसहित फ्ल्यागशिप फोन ल्याउने भएको छ । अनरकी अध्यक्ष फ्याङ फेईले ‘म्याजिक थ्री सिरिज’ स्न्यापड्रागन ८८८ प्लससहित बजारमा सार्वजनिक हुने बताएकी छन् ।
ह्वावेबाट स्वतन्त्र भएपछि अनरले अमेरिकी कम्पनीहरूसँग सम्बन्ध कायम राख्न थालेको थियो । हालै उसले गुगल मोबाइल सर्भिस सपोर्टसहित नयाँ फोन बजारमा सार्वजनिक गरिसकेको छ । अब क्वालकमसँग समेत सहकार्य गरेपछि यसअघि गुमाएको बजार फर्काउने रणनीति कम्पनीले ल्याएकाे छ ।