close

राष्ट्र बैंकको नामका सबै फेसबुक पेज नक्कली, संलग्नमाथि साइबर अपराधको मुद्दा चलाइने

टेकपाना टेकपाना

असार १७, २०७८ १२:२२

राष्ट्र बैंकको नामका सबै फेसबुक पेज नक्कली, संलग्नमाथि साइबर अपराधको मुद्दा चलाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो नाममा नक्कली फेसबुक पेज बनाउनेहरूमाथि साइबर अपराधको मुद्दा चलाउने चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोस्ट गर्ने कार्य भइरहेको उल्लेख गर्दै केन्द्रीय बैंकले त्यसप्रति ध्यानाकर्षण जनाएको हो ।

हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको भन्दै केन्द्रीय बैंकले यसबाट कुनै पनि प्रकारको सूचना तथा आह्वान फेसबुक पेजबाट नगरिएको समेत स्पष्ट पारेको छ । यस किसिमको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै राष्ट्र बैंकले साइबर अपराध सम्बन्धी कानून अनुसार कारबाही गरिने व्यहोरा जानकारी गराएको छ ।

‘यसरी राष्ट्र बैंकको नाममा खोलिएका फेसबुक पेजहरूमा आफ्नो कुनै पनि सूचना प्रविष्ट नगर्नुहुन सम्पूर्ण फेसबुक प्रयोगकर्ताहरूमा जानकारी गराइन्छ,’ केन्द्रीय बैंकको वक्तव्यमा भनिएको छ, ‘यस्ता भ्रामक फेसबुक पोस्टमा विश्वास नगर्न सर्वसाधारणहरूलाई अपील गर्दछौँ ।’ राष्ट्र बैंकको नाममा फेसबुकमा आधा दर्जनभन्दा बढी फेसबुक पेजहरु खोलिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५