close

युवा बैंकर रिजाललाई प्रतिष्ठित जीसीआईएफ पुरस्कार

टेकपाना टेकपाना

असार १७, २०७८ १७:९

युवा बैंकर रिजाललाई प्रतिष्ठित जीसीआईएफ पुरस्कार

काठमाडौं । हाल अमेरिकामा कार्यरत एक युवा बैंकर प्रवेश रिजालले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेन्स एण्ड फाइनान्स’ (जीसीआईएफ) पुरस्कार प्राप्त गरेका छन् ।

मंगलबार लास भेगास सहरमा आयोजित एक भव्य समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । जीसीआआईएफले अमेरिकामा बीमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिलाई सो पुरस्कार प्रदान गर्ने गरेको छ ।

‘हामीले पुरस्कारका लागि छनोट गर्दा बीमा तथा वित्त क्षेत्रमा कुनै व्यक्ति वा कम्पनीले पारेको प्रभाव, नवप्रवर्तन, भविष्यको तयारी तथा बजारमा मागजस्ता मापदण्डको आधारमा मूल्यांकन गर्छौं ।  युवा बैंकर प्रवेश रिजाल ती सबै मापदण्डहरुमा उत्कृष्ट ठहरिएकाले यो वर्ष उनलाई यो पुरष्कारका लागि छनोट गरिएको हो,’ जीसीआईएफले भनेको छ ।

अमेरिकाका सबैभन्दा ठूला बैंकरहरुमध्ये सिटी ग्रुपमा वरिष्ठ उपाध्यक्षको रुपमा काम गरिसकेका प्रवेश अहिले नयाँ पुस्ताको एउटा बैंक क्रस रिभरमा क्वान्टिटेटिभ स्ट्राटेजिज विभागको प्रमुखको रुपमा काम गरिरहेका छन् ।

‘मेरो विभागको मुख्य काम भनेको वित्तीय प्रविधि सम्बन्धी (फिनटेक) कम्पनीहरुलाई पूँजी बजारसँग जोड्न मद्दत गर्नु हो,’ रिजालले भने। ‘हामीले गणित र वित्तको माध्यमबाट पूँजी बजारको अनुमान गर्छौं र बैंककाे पूँजीलाई कसरी लगानी गर्ने भन्ने निधो गर्छौं । हामीले प्रत्येक वर्ष वैकल्पिक कर्जा प्लेटफर्मबाट अरबौं डलर खरिद गरी हेज फण्ड, ठूला लगानी बैंकहरु र अन्य बैंकहरुलाई बिक्री गर्न सघाउँछौं ।’

एउटा नेपाली बैंकको सल्लाहकारको रुपमा पनि काम गरिसकेका प्रवेशले विश्व पूँजी बजारमा नेपाली कर्जाको व्यापार गर्ने दिन छिट्टै आओस् भन्ने आफूले चाहेको बताए ।  उनी अहिले नाइजेरियाको क्रेडिट डेटा मार्केट प्लेसको सञ्चालक समिति सदस्यको रुपमा पनि काम गरिरहेका छन् ।

गत वर्ष कोभिड १९ ले नेपालको अर्थतन्त्रमा पुर्याएको असर न्यूनीकरण गर्न प्रवेशले नेपाली बैंकहरुलाई सामाजिक दायित्व अन्तर्गत अर्थतन्त्रलाई चलायमान गराउन भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।  तर, अहिले त्यतिले मात्रै नपुग्ने उनको आँकलन छ ।

‘नेपालका बैंकहरुमा कर्जा जोखिम तुलनात्मक रुपमा नियन्त्रित रहँदै आएको छ । यसको अलि अलि वृद्धिले खासै असर पर्दैन, तर राष्ट्र बैंकको ध्यान उत्पादनका साधनहरु कसरी बढाउनेतर्फ हुनुपर्छ ।  मुख्य कुरा विश्वबजारमा हामीले कसरी आफ्नो उपस्थिति देखाउन सक्छौं भन्ने नै हो ।अर्थतन्त्रको पुनर्निर्माणका लागि काम गर्दा त्यो नै निर्देशक प्रश्न हुनुपर्छ जस्तो मलाई लाग्छ,’ उनले भने ।

विराटनगरमा जन्मिएका प्रवेशले न्यूयोर्क विश्वविद्यालयबाट वित्तीय इञ्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५