close

३ दिनपछि क्यूआर कोड सहितको कोरोना खोप प्रमाणीकरण कार्ड पाइने

टेकपाना टेकपाना

साउन १८, २०७८ १८:४९

३ दिनपछि क्यूआर कोड सहितको कोरोना खोप प्रमाणीकरण कार्ड पाइने

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन दिएको निर्देशन तीन दिनभित्र लागू हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

शुक्रबार सीसीएमसीले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड वितरण गर्न निर्देशन दिएको थियो । यद्यपि सर्भरको व्यवस्थापन अझै हुन नसक्दा क्यूआर कोड सहितको कोरोना खोप प्रमाणीकरणमा समस्या आएको सीसीएमसीले जनाएको छ ।

सीसीएमसीले यही विषयलाई लिएर सफ्टवेयर डेभलपरसँग साेमबार बैठक बसेको छ। बैठकमा डेभलपरले आफूसँग सफ्टवेयर तयार रहेको र सर्भर लगायत अन्य उपकरणको व्यवस्था भएमा एक देखि दुई दिन भित्रै तयारीको काम सकिने जानकारी दिएको सीसीएमसीका प्रवक्ता नूरहरी खतिवडाले बताए ।

‘निर्णय भएलगत्तै हामी यस विषयमा काम गरिरहेका छौं । आजको बैठकमा भएको छलफल अनुसार केही दिनभित्रै तयारीको काम सकेर यसलाई लागू गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ,’ उनले बताए ।

विभागका व्यवस्थापन महाशाखाका प्रमुख अनिल थापाले भने आजको बैठकले कामलाई अगाडि बढाउने निर्णय गरेसँगै सबै व्यवस्थापन मिलाइने बताएका छन् ।

‘हामीसँग आवश्यक प्रणाली सबै तयारी अवस्थामा नै छन् । अबको तीनदिनमा यो प्रणाली लागू हुनेछ,’ उनले भने, ‘समस्या जटिल भएको कारण हाम्रो तर्फबाट पनि जतिसक्दो चाँडाे काम भइरहेकाे छ ।’

शुक्रबारको निर्णयपछि विभागले जारी गरेको सूचनामा भदौ १ गतेदेखि मात्र क्यूआर कोड उपलब्ध गराउने भने पनि स्थिति गम्भीर भइसकेको र यसको तयारीमा धेरै समय नलाग्ने भएका कारण तीन दिनभित्र सबै काम सकेर वितरण सुरु गरिहाल्ने निर्णय आजको बैठकले लिएको थापाले बताए ।

यसैबीच वैदेशिक रोजगारीमा जाने कामदारहरूले निर्देशन छिटो लागू गर्न माग गरेका छन् । सो माग राख्दै आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शनसमेत गरिएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१