close

कक्षा १२ को परीक्षा के भर्चुअल माध्यमबाट होला ?

टेकपाना टेकपाना

साउन १९, २०७८ ६:४१

कक्षा १२ को परीक्षा के भर्चुअल माध्यमबाट होला ?

काठमाडौं । कक्षा १२ को परीक्षा हुन अब दुई हप्तामात्र बाँकी छ । तर दिनदिनै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि परीक्षा कसरी सञ्चालन हुन्छ भन्ने विषय अन्याेल बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा भर्चुअल माध्यमबाट गर्ने कि भौतिक रुपमा गर्ने भन्दै छलफल अघि बढाइसकेको छ । तर भौतिक रुपमा परीक्षा सञ्चालन गर्दा कोभिडको जोखिम खतरा हुने र भर्चुअल वा अन्य वैकल्पिक विधिबाट परीक्षा गर्न सञ्चालन गर्न यथास्थितिमा अप्ठ्यारो हुने शिक्षाविद्काे तर्क छ ।

शिक्षा मन्त्रालयले यसअघि नै १२ कक्षाका परीक्षार्थीलाई कक्षामा भौतिक रुपमा उपस्थित भएर गराउने निर्णय गरिसकेको छ । जुन विद्यालयमा पढेको हो, त्यही विद्यालयमा परीक्षा गराउन राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ देखि भदौ ९ सम्म परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।

तर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालय भौतिक रुपमा परीक्षा सञ्चालन गर्न नहुने पक्षमा उभिएको छ ।

‘आन्तरिक मूल्यांकनबाट परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग समन्वय गर्छौं,’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने,‘ सीसीएमसीसँग पनि यस विषयमा छलफल गर्छौं ।’

राज्यमन्त्री श्रेष्ठले अगाडि भने, ‘परीक्षा रोक्ने भन्ने होइन । भौतिक रुपमा गर्ने कि घरमै बसेर भर्चुअल्ली गर्ने भन्नेमा छलफल भइरहेको छ । मंगलबार पनि छलफल गर्छाैं ।’

अर्काेतर्फ परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले यसबारे अहिले नै निर्णय गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्याल बताउँछन् ।

‘यो हप्ता परिस्थिति हेर्छौं । त्यसपछि थप छलफल गरेर निर्णय लिन्छौं,’ उनले भने, ‘विद्यार्थीलाई अन्योलमा नपरी परीक्षाको तयारीमा जुट्न आग्रह गर्न चाहन्छु ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१