काठमाडौं । उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता पाउने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । आम उपभोक्तालाई वस्तु तथा सेवा खरिदमा डेबिट/क्रेडिट कार्ड, क्यूआर कोड, स्क्यान टु पे लगायतका विद्युतीय माध्यमबाट भुक्तानी गर्दा तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशतले हुने रकम तत्काल फिर्ता दिने व्यवस्था कार्यान्वयनमा ल्याउन भन्दै आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गरेको हो ।
विद्युतीय भुक्तानी प्रवर्द्धनका लागि अघि सारिएको यो अभियानमा सहभागिता जनाउन आम व्यवसायी, उपभोक्ता तथा सरोकारवाला व्यक्ति तथा निकायहरूलाई सरकारले अनुरोध समेत गरेको छ । मूल्य अभिवृद्धि करमा दर्ता भएर आन्तरिक राजस्व विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यो प्रणालीमा आवद्ध हुन सक्नेछन् ।
विभागका अनुसार डेबिट तथा क्रेडिट कार्ड, क्यूआर कोड जस्ता विद्युतीय भुक्तानी उपकरणबाट भुक्तानी प्राप्त गर्ने बिक्रेताले मूल्य अभिवृद्धि करको दश प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रुपमा तत्कालै फिर्ता हुने व्यवस्था मिलाउनुपर्नेछ । विभागमा सूचीकृत विद्युतीय बीजक सफ्टवेयर आपूर्तिकर्ताले यो प्रणालीसँग सामञ्जस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्नुपर्ने नियम छ ।
साथै भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक लगायतका सबै बैंक तथा वित्तीय संस्थाले यो प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । प्रणालीमा आवद्ध बिक्रेताले आफ्नो कारोबार स्थलमा विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको जानकारी सार्वजनिक गर्नुपर्ने हुन्छ ।