काठमाडौं । सामान्यतया टेलिभिजन किन्ने विषयमा हामीले ध्यान दिने भनेको स्क्रिन साइज र रेजोलुसनका कुरा हुन् । समय र प्रविधिको विकाससँगै टेलिभिजनबाट प्रसारण हुने सामग्रीलाई अझ बढी प्रभावकारी र स्तरीय देखाउन समयसँगै विविध प्रयोग भएको पाइन्छ ।
उपभोक्ताको सहजता र चाहनालाई ध्यानमा राख्दै विभिन्न समयमा टेलिभिजन उत्पादन कम्पनीहरूले टेलिभिजनको क्वालिटी बढाइरहेका छन् । कुनै समय एसडीबाट एचडी, फुल एचडी हुँदै अहिले अल्ट्रा एचडीकाे कुरा चलिरहेको छ ।
यस्ताे अवस्थामा टेलिभिजन स्क्रिनमा फोरके रेजोलुसन धेरैका लागि चासोको विषय बन्न पुगेकाे छ ।
तर के तपाईंले याद गर्नुभएको छ ! फोरके स्क्रिन रेजोलुसन साना साइजका टेलिभिजनमा भने उपलब्ध हुँदैन । जबकि सबै किसिम र साइजका कम्प्युटर स्क्रिनमा फोरके रेजोलुसन सहजै उपलब्ध छ ।
कम्प्युटरका स्क्रिनमा हुने, टिभीको स्क्रिनमा नहुने किन त ? त्यसो त, स्क्रिन रेजोलुसन अनुसार टेलिभिजनको मूल्यमा तलमाथि पर्छ । फुल एचडी रेजोलुसनको तुलनामा फोरके झण्डै चारगुणा महँगो पर्न जान्छ ।
यदि तपाईं सानो स्क्रिनको नजिकै बसेर हेर्नुहुन्छ भने त फोरके ठीकै लाग्न सक्छ । तर ग्रुपमा बसेर हेर्दै हुनुहुन्छ भने फोरके रेजोलुसन ४० इन्चभन्दा कमको स्क्रिनमा अनावश्यक लाग्न सक्छ ।
फोरके रेजोलुसनमा टेलिभिजन हेर्दा उक्त टेलिभिजन स्क्रिनको एकदेखि डेढ गुणा बढी दूरीमा बसेर हेर्नु उपयुक्त हुन्छ ।
यसरी हेर्दा तपाईंका आँखाले छुट्टाछुट्टै पिक्सेलहरु अलग गर्न सक्दैन । फलस्वरुप टेलिभिजनमा देखिएका इमेज वास्तविक जीवनमा जस्तै देखिन्छ । अन्यथा फोरके रेजोलुसनको मजा लिन सकिँदैन ।