काठमाडौं । विश्वका १८ मुख्य बजारमा रियलमी स्मार्टफोन ब्राण्ड शीर्ष ५ मा पर्न सफल भएको छ । क्यानिलिस नामक अनुसन्धान संस्थाले स्मार्टफोनको माग र ढुवानीलाई आधार मानेर गरेको एक अध्ययनअनुसार रियलमी शीर्ष ५ मा अटाउन सफल भएको हो ।
स्थापना भएको तीन वर्षमै रियलमीले छलाङ मार्न सफल भएको छ । कम्पनीले यो अवधिमा विश्वभर १० करोड स्मार्टफोन बजारमा उपलब्ध गराएकाे छ, जसले गर्दा रियलमी स्मार्टफोन बजारमा तीव्र बजार विस्तार गर्ने कम्पनीको रुपमा पनि स्थापित भएको छ ।
फाइभजी स्मार्टफोनको बजारमा रियलमी भारतमा सबैभन्दा अघि छ । फाइभजी विस्तारकाे क्षेत्रमा आक्रामक रियलमीले सन् २०२१ को दोस्रो त्रैमासमा भारतीय स्मार्टफोन बजारमा २२ प्रतिशत हिस्सा ओगटेको छ ।
विश्वभर स्मार्टफोन ढुवानीको रिपोर्ट अनुसार फिलिपिन्स र बङ्गलादेशको बजारमा रियलमी पहिलो नम्बरमा रहेको छ । अध्ययन अनुसार रियलमीले युरोपियन बजारमा गत वर्षको तुलनामा १२८२ प्रतिशत बजार वृद्धि भएको छ ।
साथै स्लोभियामा दोस्रो, रसिया र पोल्यान्डमा तेस्रो र इटालीमा पाँचौँ स्थानमा पर्न सफल भएको उल्लेख गरिएको छ ।
‘यही अगस्ट महिनामा हामीले कम्पनीको तेस्रो वार्षिकोत्सव मनाउँदै गर्दा विश्वभर स्मार्टफोन बजारमा बलियो स्थानमा आफूलाई स्थापित गरेकोमा हामी खुसी छौँ,’ रियलमीका उपाध्यक्ष एवं नेपाल, भारत तथा युरोपका लागि प्रमुख कार्यकारी अधिकृत माधव शेठले भने, ‘चुनौतीका साथ हामी हाम्रा उपभोक्तालाई सुलभ मूल्यमा उच्च स्तरको स्टाइलिस स्मार्टफोन उपलब्ध गराउनमा प्रतिवद्ध छौ ।’