काठमाडौं । मोबाइल वालेट कम्पनी आईएमई पेले आफ्नो मोबाइल एप नेपाली भाषामा पनि चलाउन सकिने बनाएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त गरेको कम्पनीले आफ्ना ग्राहकको सहजताका लागि भन्दै नेपाली भाषामा समेत एप प्रयोग गर्न सकिने बनाएको हो ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर कम्पनीले यो सेवा सुरु गरेको हो । जसको उद्देश्य बैंकिङ पहुँच नपुगेका स्थानमा वित्तीय सेवा उपलब्ध गराउनु र भाषागत समस्याका कारण कोही पनि आर्थिक कारोबारबाट बञ्चित नहुने भन्ने रहेको कम्पनीले जनाएको छ ।
यो फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप डाउनलोड गर्ने अथवा अपडेड गर्नुपर्ने हुन्छ । नयाँ प्रयोगकर्ताको हकमा एप इन्स्टल गरी सुचारु गर्दा सुरुमै भाषा छनोटको विकल्प उपलब्ध हुनेछ । पुराना प्रयोगकर्ताहरूले भने एप अपडेट भएपछि आफ्नो प्रोफाइलको दाँयापट्टि रहेको इन (En\) संकेतबाट नेपाली भाषा छनोट गर्न सक्नुहुनेछ ।