close

फेसबुकमा विज्ञापन राखी ठगी गर्ने एक जना पक्राउ, १७ ओटा नागरिकता बरामद

टेकपाना टेकपाना

पुस २६, २०७९ १८:११

फेसबुकमा विज्ञापन राखी ठगी गर्ने एक जना पक्राउ, १७ ओटा नागरिकता बरामद

काठमाडौं । सामाजिक सञ्जालबाट रोजगारीको विज्ञापन राखी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गा घर भई काठमाडौं नागार्जुन बस्दै आएका २३ वर्षीय मनम घर्ती रहेका छन् । घर्तीबाट ठगी भएको भन्दै दुई जनाले उजुरी दिएपछि खोजी गर्ने क्रममा उनी पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

"हामी ठगियौँ भनेर दुई जनाले उजुरी दिएका थिए," प्रहरी उपरीक्षक कोइराला भन्छन्, "खोजी गर्दै जाँदा उनी पक्राउ परे । उनीहरूबाट ठगिने धेरै भएको अनुमान छ ।"

मगर सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, ईमोबाट आकर्षक तलब र सुविधामा फ्रान्स, स्विट्जरल्याण्ड जस्ता विकसित देशहरूमा रोजगारीको अवसर रहेको भनी विज्ञापन गर्ने गरेको अनुसन्धानबाट खुलेको उल्लेख छ ।

उनले सुरज थापा नामको नक्कली अकाउन्ट प्रयोग गर्ने गरेको समेत जनाइएको छ । अनुसन्धान कार्यालयका अनुसार त्यस्ता विज्ञापनबाट सम्पर्कमा आएका मानिसहरूलाई काठमाडौंका विभिन्न ठाउँमा बोलाएर भेट्ने र पीडितको भिसा प्रोसेसिङका लागि भन्दै उनीहरूको नागरिकता, राहदानी जस्ता कागजात संकलन गर्ने गरेको पाइएको छ ।

ती नागरिकता राखेर आफ्नो बैंकमा पैसा जम्मा गर्न लगाउने, प्राप्त नागरिकता र राहदानीको फोटोकपी बनाएर पीडितले प्रयोग गरिरहेको सिमको डुप्लिकेट सिम निकाल्ने समेत गरेको अनुसन्धानको क्रममा खुलेको छ । यसरी सिम निकालेर पीडितको बैंकमा पहुँच बनाइ बैंक अकाउन्टबाट आफ्नो अकाउन्टमा पैसा ट्रान्सफर गर्ने र बैंक अकाउन्टमा एक्सेस पाउन प्रयोग भएका सिम नष्ट गर्ने गरेको समेत देखिएको अनुसन्धान कार्यालयले जनाएको छ ।

घर्तिको साथबाट दुई ओटा मोबाइल र व्यक्तिहरूको नाममा जारी भएका १७ थान नागरिकता प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ । घर्तीमाथि थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं लगेको विज्ञप्तिमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: पुस २६, २०७९ १८:११