close

एनआईएमबी बैङ्कको पोसमा नेपाल पे ट्याप, डिजिटल भुक्तानी गर्न इन्टरनेट नचाहिने

टेकपाना टेकपाना

माघ २२, २०७९ १६:३८

एनआईएमबी बैङ्कको पोसमा नेपाल पे ट्याप, डिजिटल भुक्तानी गर्न इन्टरनेट नचाहिने

काठमाण्डौँ । नेपाल इन्भेस्टमेण्ट मेगा (एनआईएमबी) बैङ्कले आफ्नो फिनपोसबाट नेपाल पे ट्याप र नेपाल पे क्यूआर सेवाको थालनी गरेको छ । बैङ्कले एनसीएचएल तथा सीटी टेकसँगको सहकार्यमा यस्तो सेवा दिन थालेको हो । 

यससँगै अब बैङ्कका ग्राहकहरूले मर्चेन्ट प्वाइन्टहरूको फिनपोस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । यस्तै इन्टरनेट बिना पनि ग्राहकले नेपाल पे ट्यापमार्फत सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ । 

त्यसैगरी एनआईएमबीले आफ्नो फिनपोसमा समेत डाइनामिक नेपाल पे क्यूआर सुरु गरेको छ । उक्त फिनपोसमा उपलब्ध क्यूआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएस प्रयोग गर्न सकिन्छ । 

एनआईएमबीले सुरुवात गरेको पोस डिभाइसमा क्यूआर र एनएफसीमार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो हो । नेपाल पे ट्याप एनएफसी प्रविधिमा आधारित रहेको छ, जसले नजिक रहेका दुई ओटा डिभाइसबीच सुरक्षित भुक्तानी कारोबार गराउँछ । 

यो पीटुपी (व्यक्तिदेखि व्यक्ति) र पीटुएम (व्यक्तिबाट मर्चेन्ट) भुक्तानीहरूको लागि कन्ट्याक्टलेस भुक्तानीको माध्यम हो । ग्राहकलाई एनएफसी सम्बन्धी भुक्तानीको लागि फोनमा इन्टरनेट समेत आवश्यक पर्दैन । 

यससँगै अब बैङ्कका ग्राहकले पोसबाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन फिनपोसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । हाल यो सेवा कनेक्ट आईपीएसको मोबाइल एपमार्फत उपलब्ध रहेको छ । 

यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसी इनेबल भने भएको हुनुपर्छ । हाल नेपाल पे ट्यापको कारोबार सीमा प्रति कारोबार पाँच हजार रुपैयाँ सम्म रहेको छ । 

सीटी टेकले विभिन्न बैङ्कका लागि अल इन वन मसिनको रूपमा फिनपोस उपलब्ध गराउँदै आएको छ । मर्चेन्टहरूका लागि पनि सुरक्षित र सहज हुनुका साथै एकै उपकरण मार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरूको जानकारी सजिलै प्राप्त गर्न सकिन्छ । 

नेपाल पे ट्याप र नेपाल पे क्यूआर सेवा थपिएपछि बैङ्कले आफ्ना मर्चेन्टहरूलाई भुक्तानी प्राप्त गर्न थप विकल्प प्रदान गरेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क देशभर नौ लाख मोबाइल बैङ्किङ प्रयोगकर्ता, सात लाख कार्ड प्रयोगकर्ता, चार हजार भन्दा बढी पोस तथा २७८ ओटा एटीएम रहेका छन् । 

पछिल्लो अध्यावधिक: माघ २३, २०७९ १५:५२