काठमाडौँ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) समयमै लागू नहुँदा अवैध फोन भित्र्याउने गिरोहलाई थप बल पुगेको मोबाइल वितरक संघले गुनासो गरेको छ ।
यो प्रणाली लागू नहुँदा राज्यको दुई अर्बभन्दा बढी राजस्व गुमिरहेको र भन्सार छली गरी गैरकानूनी रूपमा आयातित फोनहरू बिक्री वितरण हुँदा व्यवसायी मारमा पर्नुका साथै उपभोक्तासमेत ठगीमा परेको संघका अध्यक्ष दिनेश चुल्याद्याेले बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गर्ने अन्तिम तयारी गर्दा आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि स्थगन गर्न निर्देशन दिएका थिए ।
''विदेशबाट आउने नेपालीले ल्याउने फोनमा राज्यले छुट दिने वा नदिने त्यो राज्यको कुरा हो । तर मोबाइल डिभाइस म्यामेजमेन्ट सिस्टम नेपालमा भित्रिने फोनहरूको तथ्यांक राख्ने तथा नियन्त्रण गर्ने प्रणाली हो,'' उनले भने ।
एमडीएमएस लागू नहुँदा परेका अप्ठ्याराबारे आफ्ना कुरा राख्न मोबाइल वितरक संघले बुधबार अन्तर्क्रिया तथा पत्रकार सम्ममेलन कार्यक्रम राखेको उनले जानकारी दिए ।