काठमाडौं । फिक्स्डलाइन इन्टरनेट तथा वाई-फाईको पहुँच तथा प्रयोग मात्र होइन, सँगसँगै मोबाइल डेटाको खपत पनि उत्तिकै बढ्दो छ । घर-कार्यालयमा वाई-फाई तथा इन्टरनेट हुँदा समेत तपाईँले मोबाइल डेटा प्रयोग गरिरहनु भएकै होला । तर के तपाईँले कहिल्यै विचार गर्नुभएको छ, मासिक रुपमा कति जीबी जति मोबाइल डेटा खपत भइरहेको छ ?
तपाईँको जे जति भए पनि एनसेलले भर्खरै आफ्ना प्रयोगकर्ताको औसत मोबाइल डेटा खपतको विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सन् २०२२ मा कम्पनीका प्रयोगकर्ताले औसत तीन हजार ५५४ एमबी डेटा खपत गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १४३ एमबीले बढी हो ।
कूल एक करोड ७१ लाख ४५ हजार मोबाइल प्रयोगकर्ता रहेको एनसेलले गएको एक वर्षमा तीन अर्ब ८८ करोड जीबी मोबाइल डेटा बिक्री गरेको थियो । एनसेलका कूल मोबाइल ग्राहक मध्ये ५४.२ प्रतिशतले मोबाइल डेटा सब्सक्राइब गर्ने गरेका छन् ।
कम्पनीको वित्तीय प्रतिवेदन अनुसार कूल प्रयोगकर्तामध्ये ७१ प्रतिशतले स्मार्टफोन चलाउने गरेका छन् । एनसेलले तीन हजर २३३ ओटा थ्रीजी बीटीएस र तीन हजार ९८३ ओटा फोरजी बीटीएसमार्फत देशमा मोबाइल सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
सन् २०२२ मा कम्पनीको ३९ अर्ब ८१ करोड रुपैयाँ कूल आम्दानीमध्ये ३१ प्रतिशत अर्थात् १२ अर्ब ३४ करोड १० लाख रुपैयाँ डेटा बिक्री मार्फत भएको हो ।