close

नागार्जुन नगरपालिकामा टेलिकमको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा अवरुद्ध

टेकपाना टेकपाना

फागुन २०, २०७९ २१:५७

नागार्जुन नगरपालिकामा टेलिकमको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा अवरुद्ध

काठमाडौं । नागार्जुन नगरपालिकास्थति गुम्बाचोक लगायतका स्थानमा शुक्रबारदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नगरपालिकाले तार व्यवस्थापनको नाममा कम्पनीको पूर्वाधारमा क्षति पुर्‍याएपछि टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार एरियल केबलमा क्षति पुग्दा गुम्बाचोकका सयौं सेवाग्राही मर्कामा परेका छन् ।

''दूरसञ्चार सेवा अवरुद्ध नगरी पूर्वाधार निर्माण र केबल व्यवस्थापनका कार्य गर्न सहयोग र समन्वयका लागि अनुरोध गरिरहँदा पनि कम्पनीका पूर्वाधारमा क्षति पुर्‍याई अत्यावश्यक सेवाहरु अवरुद्ध गरिएकोप्रति कम्पनी दु:ख व्यक्त गर्दछ,'' कम्पनीकाे विज्ञप्तिमा भनिएकाे छ, ''साथै, अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवा अवरुद्ध नगरिकन अन्य कार्यहरु सम्पन्न गर्नको लागि कम्पनीसँग सहकार्य र समन्वय गर्न पनि सम्बन्धित सबै निकायसँग पुनः अनुरोध गर्दछौँ ।''

सेवा प्रवाहमा समस्या आएको क्षेत्रमा यथासम्भव छिटो मर्मत कार्य सम्पन्न गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ ।

केही समययता अन्य विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०७९ २२:३