काठमाडौं । गुगलको लगानी रहेको ड्रोन निर्माता कम्पनी विङले हजाराैं अर्डर धान्न सक्नेगरी ड्रोन नेटवर्क निर्माण गरेको छ । कम्पनीले हालै अष्ट्रेलियाको एक सहरमा याे प्रविधिकाे परीक्षण गरेको छ । जसमा एउटा ड्रोनले एक दिनमा एक हजार बढी सामान डेलिभरी गर्न सफल भएको दाबी गरिएकाे छ ।
कम्पनीले आयरल्याण्डको लक्स सहरमा समेत यसको परीक्षण तयारी गरिरहेको बीबीसीले उल्लेख गरेकाे छ । साथै बेलायतमा पनि ड्रोनमार्फत सामान डेलिभरीका लागि त्यहाँको यातायात तथा नागरिक उड्डययन विभागसँग छलफल भइरहेको बताइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी एडम वुडवर्थका अनुसार ड्रोनमा आधारित डेलिभरी सिस्टम पुरानो ढुवानी सेवाको तुलनामा बढी डेटा केन्द्रित रहेको बताए ।
''परीक्षणको क्रममा हामीले खाद्यान्न, तयारी खाना यतिसम्म कि कफीसमेत ड्रोनमार्फत नै डेलिभर गरेका छौँ,'' उनले भनेका छन्, ''परीक्षणकै चरणमा रहेकाले डेलिभरीका लागि कुनै शुल्क भने लिइएको छैन । तर, भोलिका दिनमा यसलाई व्यावसायिक रुपमा अघि बढाउँदा आर्थिक हिसाबले सक्षम हुनका लागि शुल्क निर्धारण पक्कै हुनेछ ।''
उनका अनुसार ड्रोनले रातदिन जुनसुकै समयमा पनि सामान डेलिभरी गर्ने हुँदा यो निकै प्रभावकारी हुनेछ । यसका लागि हवाई उडानकै जस्ताे नेटवर्क तयारी गरिएको छ । यसको अर्थ ड्रोनका लागि टेकअफ, ल्याण्ड र चार्ज गर्नका लागि विभिन्न स्थानमा प्याड तयार पारिएको हुन्छ ।
उक्त प्याडमा गएर ड्रोन आफैं ल्याण्ड गर्नसक्ने, चार्ज हुने र पुनः आफ्नो गन्तव्यका लागि उडान भर्न सक्नेछ । सामान लोड गर्नका लागि सामान तयार गर्ने कम्पनीसँग 'अटोमेटेड लोडर' उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार लोडरमा सामान राखिदिएसँगै ड्रोन आफैंले त्यहाँबाट सामान टिपेर सिस्टमार्फत तोकिएको स्थानमा सामान पुर्याउने छ । यसका लागि सहरका विभिन्न स्थानमा चार्जिङ प्याड निर्माण गर्ने काम भइरहेको कम्पनीले उल्लेख गरेकाे छ ।
पछिल्लो अध्यावधिक: फागुन २६, २०७९ १४:४०
