close

प्रेममा छँदा फेसबुक पासवर्ड पाएका पूर्व प्रेमीले ब्रेकअपपछि अश्लील फोटो पोस्ट गरेपछि...

टेकपाना टेकपाना

चैत १९, २०७९ १७:५१

प्रेममा छँदा फेसबुक पासवर्ड पाएका पूर्व प्रेमीले ब्रेकअपपछि अश्लील फोटो पोस्ट गरेपछि...

 

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अश्लील फोटो र भिडिओ राखी चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका २२ वर्षीय दीपेश लोहनी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दीपेश र पीडित युवतीबीच केही वर्षअघि प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्धमा रहेको बखत उनीहरूबीच व्यक्तिगत फोटो आदानप्रदान हुन्थे । 

केही वर्षपछि युवती अमेरिका गइन् । अमेरिका गएपछि युवती दीपेशबाट टाढिन खोजिन् । उनी आफ्नो फेसबुकमा नयाँ प्रेमीसँगको फोटो राख्ने गर्थिन् । उनले फोटो राखेपछि दीपेशलाई देखिनसक्नु भयो ।

"प्रेममा परेपछि युवतीले दिपेशलाई फेसबुकको पासवर्ड दिएकी रहिछन्," कार्यालयका साइबर पिल्लर प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज डाँगीले टेकपानासँग भने, "यसरी फेसबुक पासवर्ड पाएका दिपेशले युवतीको अकाउन्टबाट अश्लील फोटो र भिडिओ राखेर हैरानी दिन थाले ।" 

यति मात्र नभइ आफ्नो फेसबुकमा लाइभ गएर दीपेश युवतीको नाम लिँदै बारम्बार आत्महत्याको प्रयास गर्थे । यसरी चरित्र हत्या हुन थालेपछि अमेरिका पुगेकी पीडित युवतीका बुबाले कार्यालयमा निवेदन दिए । त्यही उजुरीका आधारमा प्रहरीले दिपेशलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दिपेशलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकू पठाइएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत १९, २०७९ १७:५१