परीक्षाफल इन्ट्री गर्न डाँडा चढ्छन् बैतडीका शिक्षक, टेलिकमले काम नगरेपछि एनसेलको भर
चैत २३, २०७९ ११:११
काठमाडौं । विद्यालयको परीक्षाफल लगायतका तथ्याङ्क अनलाइनमा अपलोड गर्न बैतडीका शिक्षकहरू अग्ला डाँडा चढ्न बाध्य भएका छन् । इन्टरनेट र टेलिफोनले काम नगर्दा शिक्षकहरू ल्यापटप बोकेर कागजात सहित अग्ला डाँडामा पुग्ने गरेको गोरखापत्रले उल्लेख छ ।
पाटन नगरपालिका- ७ भुवनेश्वर आधारभूत विद्यालयका शिक्षक पुष्करसिंह साउद र उदयदेव मावि किम्तोलीका शिक्षक भानसिंह पेला इन्टरनेटको खोजी गर्दै नियमित अग्ला डाँडामा पुग्ने गरेका छन् । स्थानीय भगौती डाँडा पुगेर पनि नेपाल टेलिकमको मोबाइल डेटाले काम नगरेपछि एनसेलको सिम प्रयोग गरी कक्षा ८ को परीक्षाफल अनलाइनमा प्रविष्ट गरेको उनीहरूले बताएका छन् ।
ल्यापटप र कागजात बोकेर अग्ला डाउँडामा पुगे पनि नेपाल टेलिकमको फोरजी सेवा उपलब्ध नभएको शिक्षक साउदले बताए । त्यस क्षेत्रमा एनसेलको सिममा पनि राम्रोसँग फोरजीले टिप्दैन । बैतडीको पाटन नगरपालिका मात्र होइन, सिगास गाउँपालिका १ स्थिति भूमिराज स्वामी आधारभूत विद्यालय आसपासका गाउँटोलमा पनि नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन ।
त्यहाँ फोरजी सेवा त परको कुरा बादल लागेको बेला फोनको नेटवर्क समेत चल्दैन । त्यस्तै पाटन नगरपालिका १ र ७ नम्बर वडाका करिब १५ वटा गाउँमा नेपाल टेलिकमको नेटवर्क पुगेको छैन । टेलिकमले दुई वर्ष अघि पाटन नगरपालिका १ मेलचौरमा निर्माण सुरु गरेको टावर अझै सञ्चालनमा आउन नसक्दा सञ्चार सुविधाबाट बञ्चित हुनु परेको पाटन नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तर्क ठगुन्नाले बताए ।
नेपाल टेलिकम बैतडीका प्रमुख अजित प्याकुरेलले त्यहाँका अधिकांश गाउँमा विद्युत नहुँदा सोलारबाट टावर सञ्चालन गर्नु परेको बताए । "बादल लागेका दिन ब्याट्री चार्ज नहुँदा नेटवर्कमा समस्या आउने गरेको छ," उनले भने । बैतडीमा टेलिकमका ४२ हजार पाँच सय प्रिपेड, ४९२ पोस्टपेड र ल्यान्डलाइन सेवाका करिब एक हजार ग्राहक रहेको उल्लेख छ ।
पछिल्लो अध्यावधिक: चैत २३, २०७९ ११:११
