काठमाडौं । सरकारले पालिकाबाट सहज रुपमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना ल्याएको छ । बिहीबार न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिइन् ।
विभागले लाखौंको सङ्ख्यामा कार्ड छपाई सकेपनि वितरण सहज नहुँदा नागरिकले राष्ट्रिय परिचयपत्र पाउन सकेका छैनन् । यस्तो सन्दर्भमा सरकारले पालिका तहबाटै वितरण गर्ने योजना अघि सारेको हो ।
''एउटै काममा धेरै कागजान बुझाउनपर्ने झन्झट हटाउन राष्ट्रिय परिचयत्रमा व्यक्तिको सम्पूर्ण विवरण समावेश गरी पालिकाबाट वितरण गर्ने व्यवस्था ल्याइने छ,'' न्यूनतम साझा कार्यक्रममा भनिएको छ ।
फरक-फरक कार्यालयमा नागरिकता लगायत डकुमेन्ट पटकपटक बुझाउनुपर्ने झन्झटलाई हटाउन राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याउने सरकारी योजना छ ।
''सार्वजनिक काममा सेवाग्राहीले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र दुवै बुझाउनुपर्ने बाध्यतालाई मापदण्द बनाई हटाइनेछ,'' उक्त साझा कार्यक्रममा उल्लेख छ ।