close

‘डाँफे’ र ‘मुनाल’ स्याटलाइट नेपालका लागि ठूलो उपलब्धिः विज्ञान मन्त्री राई

टेकपाना टेकपाना

चैत ३०, २०७९ १०:३६

‘डाँफे’ र ‘मुनाल’ स्याटलाइट नेपालका लागि ठूलो उपलब्धिः विज्ञान मन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘डाँफे’ र ‘मुनाल’ उपगृह नेपालको ठूलो उपलब्धि भएको बताएका छन् । अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष दिवसकाे अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)मा बुधबार भएकाे ‘स्पेस कोन २०२३’ कार्यक्रममा बाेल्दै मन्त्री राईले यस्ताे बताएका हुन् ।

अब नेपालको अन्तरिक्ष यात्रा सुरु भएकाले ती उपग्रह ठूलो उपलब्धि भएको उनकाे भनाइ थियाे । “नेपाललाई अति कम विकसित देश भनिन्छ । तर अन्तरिक्ष विज्ञानमा ठूलो सफलता हात पारेका छौं । यसका लागि त्यस कार्यमा संलग्न सबै वैज्ञानिक, प्राविधिकहरू धन्यवादको पात्र हुनुहुन्छ,” उनले भने । नेपालले ती दुई उपग्रह विकास गरेसँगै अब नेपाल नयाँ युगमा प्रवेश गरेको उनकाे धारणा थियाे ।

 “अन्तरिक्ष विज्ञान र खगोलशास्त्र त धेरै पुरानो हो । तर अन्तरिक्ष विज्ञानका विभिन्न सफलताले यसको उचाइ माथिल्लो तहमा पुर्‍याएको छ । तर त्यसलाई छुन नास्ट, नेपाली वैज्ञानिक, विभिन्न संघसंस्थाहरूले साधनस्रोतको अभावबीच पनि प्रयास गरिरहनु भएको छ, जुन निकै प्रशंसनीय छ । त्यसलाई जारी राखिरहनुहोस्,” उनले भने ।

“अहिले प्राध्यापक, विद्वानहरूसँग काम गर्ने अवसर मिलेको छ । उहाँहरूलाई सहयोग गर्ने एकदम नै हुटहुटी छ । तर मैले इच्छा गरेका सबै कुराहरु पूरा गर्न विभिन्न लक्ष्मण रेखाहरुले अवरोध गर्छ होला । मैले आफ्नो ठाउँबाट सक्ने प्रयत्न गर्नेछु ।” 

नेपालमा अवसरहरू धेरै भएपनि त्यसलाई धेरै सदुपयोग गर्न नपाएको उनको भनाइ थियो । यदि ती अवसरहरूलाई सदुपयोग गर्न सके नतिजा धेरै राम्रो हुने उनले बताए । तर आफू पनि विज्ञानको विद्यार्थी भएकाले यससँग नाता जोड्ने आकांक्षा अब मन्त्रालयबाट पूरा गर्ने उनले सुनाए ।

“अहिले भाइबहिनीहरूले काम गर्न जुन वातावरणमा पाउनुभएको छ, त्यसले मेरो आफ्नो पनि इच्छा पूरा गरिदिएको छ,” उनले भने, “यदि मन्त्रालयबाट उहाँहरूलाई थप सहयोग गर्न सके मेरो सन्तुष्टिको मात्रा थप बढ्ने थियो ।”

अन्तरिक्ष विज्ञानमा नास्ट लगायतका संस्थाले गरिरहेको काम प्रशंसा गर्न योग्य भएकाले सो कार्यक्रममा आफूले सकेको सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

अन्तरिक्षमा मानव पाइला परेको अवसरमा हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष दिवस मनाइन्छ । याे अवसरमा नास्टले विभिन्न संस्थासँगकाे सहकार्यमा ‘स्पेस कोन २०२३’ कार्यक्रम सम्पन्न गरेकाे छ । सो अवसरमा अन्तरिक्ष विमर्श तथा त्यस सम्बन्धीका प्रदर्शनीहरु गरिएको थियो ।

यो पनि पढ्नुहोस्

थप दुई नेपाली स्याटलाइट 'डाँफे र मुनाल' प्रक्षेपण हुने तयारीमा

 

पछिल्लो अध्यावधिक: चैत ३०, २०७९ १०:३६