पटक-पटक ओभर स्पिडमा सवारी गुडाउनेलाई मात्र ५० हजार जरिवाना प्रस्ताव गरिएको हो- मन्त्री लम्साल
असार ३०, २०८३ १६:६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले हाल चर्चामा रहेको ओभर स्पिड (तीव्र गति) को ५० हजार रुपैयाँ जरिवाना सबैका लागि नभई गल्तीको प्रकृति र पटक-पटकको दोहोर्याइमा निर्भर हुने बताएका छन् । मंगलबार संसद् बैठकमा बोल्दै उनले प्रस्तावित नयाँ व्यवस्थामा जरिवानालाई वैज्ञानिक र व्यावहारिक बनाउन लागिएको जानकारी दिए ।
मिडियामा आएका समाचारहरूको खण्डन गर्दै मन्त्री लम्सालले भने, “हाल चर्चामा रहेको जरिवाना मिडियामा आएजस्तो ओभर स्पिड गर्नेबित्तिकै ५० हजार लाग्ने भन्ने होइन । हामीले गतिको तीव्रता (Intensity) र पुनरावृत्ति (Repetition) को आधारमा रेन्ज तोक्न खोजेका हौँ ।”
उनले अगाडि भने, “जहाँ ३०-४० किलोमिटरको स्पिड लिमिट छ, त्यहाँ थोरै बढी चलाउनेलाई ५०० जरिवाना हुन सक्छ । तर त्यही ठाउँमा १०० को स्पिडमा चलाउनेलाई पाँच हजार लाग्न सक्छ । यदि कसैले १०० कै स्पिडमा पटक-पटक गल्ती दोहोर्याइरह्यो भने मात्र त्यो जरिवाना ५० हजारसम्म पुग्न सक्छ ।”
उनले यस्तो गल्ती निरन्तर गरिएमा चालक अनुमति पत्र (लाइसेन्स) नै रद्द हुने व्यवस्था समेत हुन सक्ने उनले बताए ।
मन्त्री लम्सालले जरिवाना रकम तिर्न नसक्नेहरूका लागि नयाँ विकल्पको समेत अघि सारेका छन् । “हामीले जरिवाना रकम श्रम भुक्तानीद्वारा परिपूर्ति गर्न सकिने गरी विधेयकमा व्यवस्था गर्दैछौँ । यो तयारी भइरहेको छ ।”
हालै १० हजार जरिवाना तिर्न नसकेर एक राइडर समेत रहेका गणेश नेपालीले आत्मदाह गरेको भन्ने चर्चाप्रति लक्षित गर्दै उनले भ्रम नफैलाउन आग्रह गरे । उनले भने, “१० हजार जरिवाना तिर्न नसकेर आत्मदाह गरेको भन्ने भ्रम फैलाइएको छ, यस्तो भ्रम नफैलाउनुहोला । हामीले नागरिकलाई उत्तेजित बनाउने वा ट्रिगर गर्ने काम गर्नु हुँदैन ।”
काठमाडौँमा मेट्रो रेलको सपना बाँडिएको भन्ने आलोचनाको जवाफ दिँदै उनले मेट्रो रेल निजी क्षेत्रको लगानीमा बन्ने र यसमा सरकारको तत्काल ठुलो लगानी नरहेको सुनाए । साथै, उनले रेलमार्ग र अन्य सडक करिडोरका लागि ‘राइट अफ वे’ लाई संरक्षण गर्नुपर्ने र यसले आगामी ५० देखि १०० वर्षपछिको पुस्तालाई फाइदा पुग्ने बताए ।
पछिल्लो अध्यावधिक: असार ३०, २०८३ १६:२५
