close

बेलायतले ल्यायो एक खर्ब बराबरको साइबर सुरक्षा कार्यक्रम

टेकपाना टेकपाना

बैशाख ६, २०८० १७:१३

बेलायतले ल्यायो एक खर्ब बराबरको साइबर सुरक्षा कार्यक्रम

काठमाडौं । बढ्दो साइबर सुरक्षा चुनौतीलाई लक्षित गर्दै बेलायत सरकारले करिब एक खर्ब रुपैयाँ बराबरको साइबर सुरक्षा योजना अघि बढाएको छ । युरोपियन कमिसनले १.१ अर्ब युरो अर्थात् करिब १ खर्ब रुपैयाँ बराबरको परियोजना अघि बढाएको हो ।

पछिल्लो केही समय यता बेलायतका उच्चपदस्थको व्यक्तिहरु ह्याकरको सिकार बनी रहेका छन् । यस्तोमा बेलायत सरकारले आन्तरिक र बाह्य साइबर सुरक्षालाई बलियो बनाउने उद्देश्यका साथ यो परियोजना अघि बढाएको उल्लेख गरिएको छ ।

त्यो भन्दा पनि पछिल्लो समयमा देशहरूबिच हुने लडाइमा साइबर आक्रमण हतियारको रुपमा प्रयोग हुन थालेको छ । जसको ज्वलन्त उदाहरण रुस र युक्रेनबिचमा युद्ध हो । रुस र युक्रेनबिच भएको युद्धमा रुसले साइबर आक्रमण गरी युक्रेनका संयन्त्रमा नियन्त्रण गरेका विषयहरु बाहिरिएका थिए । बेलायत सरकारले रुस र युक्रेनको घटनालाई समेत ध्यानमा राख्दै यस्तो कदम अघि बढाएको हो ।

यसका लागि ‘युरोपियन साइबर सेक्युरिटी सिल्ड’का साथै ‘साइबर इमर्जेन्सी मेकानिजम’ निर्माण गर्ने योजनामा उल्लेख गरिएको छ । जसमा आन्तरिक र क्रस बोर्डरमा साइबर सेक्युरिटी अप्रेसन सेन्टर रहनेछन् । जसमा एआई, मेसिन लर्निङ, एड्भान्स डेटा एनालिटिक्स जस्ता प्रविधिको प्रयोग गरिनेछ । जसले सहज रुपमै देशभन्दा बाहिरबाट हुने साइबर हमलाहरुलाई पहिचान गर्न तथा त्यसको समाधानका लागि सहयोग गर्नेछ ।

अर्कोतर्फ स्वास्थ्य सेवा, यातायात, उर्जा जस्ता महत्वपूर्ण क्षेत्रको सुरक्षाका लागि साइबर इमर्जेन्सी मेकानिजमले काम गर्ने जनाइएको छ । 


 

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८० १७:१३