close

गुगलले हटायो प्रयोगकर्ताको डेटा चोर्ने १४ लाख एन्ड्रोइड एप

टेकपाना टेकपाना

बैशाख १६, २०८० १३:४९

गुगलले हटायो प्रयोगकर्ताको डेटा चोर्ने १४ लाख एन्ड्रोइड एप

काठमाडौं । गुगलले २०२२ मा प्ले स्टोरबाट १४ लाखभन्दा बढी एप हटाएको छ । २०२२ को वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै गुगलले सो वर्ष आफ्नो नीति उल्लङ्घन गर्ने १४ लाख ३० हजार एप प्ले स्टोरबाट हटाएको जानकारी दिएकाे छ । 

यो क्रममा कम्पनीले दुई अर्ब डलर (करिब २६ खर्ब १७ अर्ब रुपैयाँ) गैरकानूनी कारोबार रोकेको दाबी गरेको छ । पछिल्लो समय प्ले स्टोरमा सुरक्षा कमजोरी भएका धेरै एप भेटिन थालेपछि गुगलले आफ्नो सुरक्षा नीति परिमार्जन गर्दै लगेको छ ।

यही कारण नयाँ डेभलपरले प्ले स्टोरमा एप अपलोड गर्दा आफ्नो फोन, ईमेल लगायत अन्य प्रक्रियामार्फत आफ्नो एप सुरक्षित रहेको प्रमाणित गर्नुपर्ने हुन्छ ।

एन्ड्रोइड फोनको सुरक्षार्थ डेभलपरका लागि गुगलले ‘एसडीके इन्डेक्स’ तयार पारेको छ । यसले उनीहरूले तयार पारेको एप गुगलको नीति विपरित छ/छैन भनेर जाँच गर्ने गर्छ ।

त्यस्तै असुरक्षित एपीआईमा काम गर्नबाट रोक्न गुगलले डेभलपरहरूलाई एपको एपीआई देखाउन लगाउने गरेको छ । साथै डेभलपरहरूले प्रयोगकर्ताको डेटा के गर्छन् भनेर थाहा पाउन गुगलले प्ले स्टोरमा ‘डेटा सेफ्टी’ सेक्सन समेत थप गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८० १३:४९