close

त्रिवि अन्तर्गत बीसीए पढ्ने विद्यार्थीको संवेदनशील डेटा डार्क वेबमा लिक

टेकपाना टेकपाना

बैशाख १६, २०८० १५:२७

त्रिवि अन्तर्गत बीसीए पढ्ने विद्यार्थीको संवेदनशील डेटा डार्क वेबमा लिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीसीए (ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन) पढ्ने विद्यार्थीको डेटा चोरी भएको छ । चोरी भएको उक्त डेटा डार्क वेबमा फेला परेको छ ।

यो डेटा शुक्रबार दिउँसाे साढे ४ बजेतिर लिक भएको साइबर सुरक्षा अनुसन्धानकर्मी सुशील फुयाँलले जानकारी दिए । "ह्याकरले डेटा चोरी गरेर डार्क वेबमा राखेका छन् । त्यहाँ बीसीए पढ्ने सबै विद्यार्थीको विवरण छ," उनले भने, "नागरिकताका फोटो समेतमा ह्याकरको पहुँच पुगेको देखिन्छ ।"

यस विषयमा सामाजिक सञ्जालमा पोस्ट भएका विभिन्न स्टाटसमा कमेन्ट गर्दै ह्याकरले विद्यार्थीको नागरिकता र अन्य विवरण शेयर गरिरहेका छन् ।

“हामीलाई प्राप्त भएको जानकारी अनुसार अहिले ‘मास्क ग्याङ’ को नाममा एउटा समूह परिचालित छ, जसले यो डेटा चोरी गर्ने काम गरिरहेको छ,” फुयाँलले भने ।

फेसबुकमा 'Narpisaj Kumar' नाम राखेर अकाउन्ट खाेलेका एक व्यक्तिले लिक भएकाे डेटाकाे स्क्रिनशट पाेस्ट गरेका छन् । साथै उनले बीसीए विद्यार्थीलाई आफ्नो स्टाटसको कमेन्टमा डट (.) टाइप गर्न आग्रह गर्दै जादु देखाउने भनेर पोस्ट गरेका छन् । उनले लेखेका छन्, "Leave a dot in comment and see magic, only for BCA students." 

त्रिभुवन विश्वविद्यालयको वेबसाइटमा रहेको सुरक्षा कमजोरीको फाइदा उठाउँदै ह्याकरले २५ हजारभन्दा बढी विद्यार्थीको डेटा बाहिर ल्याएको बुझिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८० १५:४६