काठमाडौं । नेपाली बजारमा 'पोको एक्स फाइभ प्रो' (Poco X5 pro) फाइभजी स्मार्टफोन भित्रिएको छ । वैशाख २२ देखि ६ दिनसम्म दराज अनलाइन मार्केटप्लेसमा यो यो फोन प्रिबुकिङका लागि खुलाइएको छ । बजारमा भने वैशाख २८ देखि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।
यो मिड-रेन्ज एक्स सिरिजमा ६७ वाटको फास्ट चार्जिङसहित ५००० एमएएच क्षमताको ब्याट्री छ । त्यस्तै ६.६७ इन्चको फ्लो एमोलेड स्क्रिन दिइएको छ । कम्पनीले फ्लो एमोलेड फिचर भएको याे पहिलो एक्स सिरिज फोन भएको उल्लेख गरेको छ ।
अर्कोतर्फ कम्पनीले यो फोनलाई एक्स सिरिजकै सबैभन्दा पातलो फोनका रूपमा अघि सारेको छ । यसको मोटाइ ७.९ एमएम मात्र छ ।
कम्पनीका अनुसार यसमा रिफ्रेस रेट १२० हर्जसम्मको रहेको छ, जसले प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
फोनमा टीएसएमसीको ६ एनएम प्रोसेसिङ प्रविधिको प्रयोग गरी निर्मित स्न्यापड्रागन ७७८जी चिपसेट छ ।
फोटोग्राफी र भिडिओग्राफीमा रुचि राख्नेहरूका लागि पनि यो फोन उपयोगी हुने कम्पनीको भनाइ छ । यसमा १०८ मेगापिक्सेलको मुख्य सेन्सर छ भने सेल्फी क्यामेरा १६ मेगापिक्सेलको छ ।
६ जीबी+१२८ जीबी तथा ८ जीबी+२५६ जीबी गरी दुई भेरियन्टमा उपलब्ध फोनकाे मूल्य क्रमशः ३९ हजार ९९९ र ४२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।