काठमाडौं । टाटा मोटर्सले पर्सि आफ्नो नेक्सन ईभी म्याक्स नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक विशेष कार्यक्रम मार्फत नेक्सन ईभी म्याक्स ल्याउन लागेको हो ।
एक पटकको चार्जमा ४५३ किमी गुड्ने बताइएको यो विद्युतीय गाडीको सुरुवाती मूल्य भारतमा १६.४९ लाख भारु (करिब २६ लाख ३५ हजार रुपैयाँ) रहेको छ । यद्यपि नेपाली बजारमा यसको कति मूल्य पर्नेछ भन्ने कुराको भने आधिकारिक जानकारी आइसकेको छैन ।
नेक्सन ईभी म्याक्सको ब्याट्री तथा मोटरमा आठ वर्ष वा एक लाख ६० हजार किमि (जुन पहिला आउँछ) को वारेन्टी राखिएको छ । डीसी फास्ट चार्जरको सहयोगमा यो गाडी फुल चार्ज गर्न ५६ मिनेट लाग्ने बताइएको छ ।
नौ सेकेन्डमै शून्यदेखि १०० किमि प्रति घण्टाको गति पकड्न सक्ने बताइएको यो गाडीमा मल्टी ड्राइभ मोडदेखि सुधारिएको सस्पेन्सन सिस्टमसम्मका विशेषता रहेका छन् । इन्टेन्सी-टियल, प्रिस्टाइन ह्वाइट र डेटोन ग्रे गरी तीन रङ्गमा आउने नेक्सन ईभी म्याक्स जिपट्रोन ईभी आर्किटेक्चरमा बनेको छ ।
४०.५ किलोवाट आवर लिथियम आयन ब्याट्री राखिएको यो गाडीले आईपी ६७ रेटिङ प्राप्त गरेको छ । गाडीको साथमा आउने ७.२ किलो वाटको एसी फास्ट चार्जरबाट ब्याट्री फुल चार्ज हुन रातभर लाग्नेछ ।
गाडीमा कनेक्टिभिटीको रुपमा स्मार्ट वाच इन्टिग्रेसन, वन क्लिक ट्रयाकर, चार्जिङ स्टेसन लोकेटर, रिमोट डायग्नोस्टिक, रिमोट कमाण्ड, जियो-फेन्सिङ, इन्ट्रजन अलर्ट र चार्ज लिमिट सेटिङ जस्ता फिचरहरू पनि छन् ।