काठमाडौं । नेपाल टेलिकमले पोखरा र वीरगञ्जमा समेत नाम मात्रको फाइभजीको आन्तरिक परीक्षण सुरु गरेको छ । कम्पनीका सीमित कर्मचारीहरूले मात्र सहभागी हुन पाउने गरी गण्डकी र मधेस प्रदेशका एक एक ओटा बीटीएसमार्फत फाइभजी परीक्षण थालेको हो ।
त्यसो त कम्पनीले काठमाडौंमा गत कात्तिकमै यस किसिमको परीक्षण सुरु गरेको थियो । तर त्यसको औपचारिक घोषणा भने गत २२ माघमा मात्र गरिएको थियो ।
नेपालमा टेलिकममको फाइभजी परीक्षण सुरु भएको भनिएको छ महिना बितिसक्दा पनि ग्राहकले प्रयोग गर्न पाउने टुङ्गो भने छैन । टेलिकमका प्रवक्ता सोभन अधिकारीले अहिले नै फाइभजी सेवा ग्राहकका लागि फाइभजी परीक्षण उपलब्ध हुने मिति यकिन नभइसकेको बताए ।
उनका अनुसार काठमाडौंको सुन्धारा तथा बबरमहल, पोखरा र वीरगञ्जमा गरी चार स्थानमा फाइभजी परीक्षण भइरहेको छ । “बाँकी चार प्रदेशका एक एक स्थानमा यसैगरी परीक्षण गर्ने योजना छ,” उनले भने, “त्यसका लागि आवश्यक उपकरण आयात नहुँदा ढिलाइ भइरहेको छ ।”
नेपाल सरकारको निर्णयमा नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई मात्र फाइभजी परीक्षण गर्ने अनुमति दिएको छ । ग्राहकलाई निःशुल्क रुपमा परीक्षणमा सहभागी गराउने सर्तमा कम्पनीलाई २६०० मेगाहर्जमा निःशुल्क रुपमा ६० मेगाहर्ज फ्रिक्वेन्सी दिइएको छ ।
तर उक्त फ्रिक्वेन्सीबाट तोकिएका स्थानमा राखिएका बीटीएसले १५० देखि २०० मिटरसम्म मात्र सिग्नल पुर्याउन सक्ने बताइएको छ ।