close

टेलिकमको फाइभजी परीक्षण 'हात्ती आयो, हात्ती आयो, फुस्सा'

टेकपाना टेकपाना

माघ २२, २०७९ १५:७

टेलिकमको फाइभजी परीक्षण 'हात्ती आयो, हात्ती आयो, फुस्सा'

काठमाडौँ। आइतबारदेखि सुरु हुने भनिएको टेलिकमको फाइभजी परीक्षण 'हात्ती आयो हात्ती आयो फुस्सा' सावित भएको छ । कम्पनीको वार्षिकोत्सवको अवसरमा फाइभजी परीक्षण थाल्ने भनिएको भए पनि त्यसको औपचारिक सुरुवात हुन सकेन ।

यद्यपि कम्पनीले फाइभजी परीक्षण कार्यको औपचारिक सुरुवात हुन नसक्नुको कारण भने खुलाएको छैन । कार्यक्रममा लिखित मन्तव्य दिएका टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले फाइभजी उपकरणहरू जडान गरी फाइभजीको परीक्षण जारी रहेको उल्लेख सम्म गर्न भ्याएका थिए ।

जब कि यस किसिमको आन्तरिक परीक्षणको कार्य गत कात्तिकमै थालिएको थियो ।

“जीएसएम प्रविधि अन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिक रुपमा नै फरक आर्किटेक्चरबाट सञ्चालन हुने भएकोले भविष्यमा फाइभजीलाई व्यावसायिक रुपमा सञ्चालन गर्न कम्पनीमा हाल प्रयोगमा रहेका पूर्वाधार र उपकरणहरू कम्प्याटिबल हुने/नहुने, स्तरोन्नति गर्नु पर्ने/नपर्ने, विस्थापन गर्नु पर्ने/नपर्ने आदि विश्लेषण गर्ने कार्य भइरहेको छ,” उनले भने ।

अङ्ग्रेजी नयाँ वर्ष २०२३ को सुरुवात जनवरी १ देखि फाइभजी परीक्षण सुरु गर्ने घोषणा गरिएपनि आवश्यक आन्तरिक तयारी पूरा नभएको भन्दै स्थगित गरिएको थियो । त्यसपछि कम्पनीको वार्षिकोत्सवको अवसरमा माघ २२ गतेको नयाँ मिति तय गरिएको भए पनि त्यसलाई समेत खेर फालिएको छ । 

हामीले कम्पनीका सहप्रवक्ता रञ्जित लोहियालाई यो विषयमा स्पष्ट पारिदिन आग्रह गरेका थियौँ । उनले सर्वसाधारणले प्रयोग गर्न नपाउने किसिमको आन्तरिक परीक्षण भएकाले त्यस बारे औपचारिक घोषणा नभएको बताए । 

सोही कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागी भएका नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने टेलिकमको रवैयाप्रति सार्वजनिक रूपमा नै असन्तुष्टि व्यक्त गरे ।

“हामीले फाइभजी परीक्षणलाई दुई ओटा बीटीएसबाट सर्वसाधारणमा नलगी आन्तरिक रूपमा प्राविधिक परीक्षण गर्नकै लागि मात्र अनुमति दिएका थिएनौँ,” उनले भने, “कम्तिमा काठमाडौँ रिङरोडभित्र सर्वसाधारणले समेत अनुभव गर्न पाउनेगरी यसको परीक्षण  होस् भन्ने चाहेका हौँ ।” 

नियामक प्राधिकरणले टेलिकमलाई फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्डमा निःशुल्क फ्रिक्वेन्सी उपलब्ध गराएको छ । जसमा रहेर फाइभजी परीक्षण गर्दा सर्वसाधारणबाट कुनै पनि शुल्क लिन नपाउने सर्त तोकिएको छ । 

तर टेलिकम भने आन्तरिक प्राविधिक तयारीलाई नै फाइभजी परीक्षणको नाम दिएर आफ्नो कमजोरी लुकाउने प्रयासमा रहेको आशङ्का गरिएको छ । वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र कम्पनीको सञ्चालक समिति अध्यक्ष समेत रहेका मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको समेत उपस्थिति रहेको थियो ।

तर उनीहरूले फाइभजी परीक्षणको नामै लिन चाहेनन् । एकपछि अर्को गर्दै फाइभजी परीक्षण टार्दै गएपछि त्यसप्रति आम रुपमा विभिन्न आशङ्काहरू उब्जिन थालेका छन् । 

पछिल्लो अध्यावधिक: माघ २२, २०७९ १५:७