close

के लाइसेन्सको अवधि समाप्त हुने भएपछि एनसेलले नेपालमा लगानी गर्न छोडेको हो ?

टेकपाना टेकपाना

जेठ ४, २०८० १३:५७

के लाइसेन्सको अवधि समाप्त हुने भएपछि एनसेलले नेपालमा लगानी गर्न छोडेको हो ?

काठमाडौं । १६ भदौ २०६१ मा प्राप्त गरेको एनसेलको लाइसेन्स अवधि अबको छ वर्षमा समाप्त हुँदैछ । अहिलेकै अवस्थामा लाइसेन्स अवधि समाप्त भएपछि कम्पनी नेपाल सरकारको स्वामित्वमा आउनेछ । 

निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणामा सुरु भएको कम्पनीको लाइसेन्स अवधि समाप्त हुने भएपछि एनसेलले लगानी गर्न छोडेको नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कणेलले बताए । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) दिवस तथा सूचना समाज दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो प्रश्न उठाएका हुन् । 

लाइसेन्स अवधि समाप्त भएपछि सबै सम्पत्ति र पूर्वाधार छोडेर जानुपर्ने अवस्थामा थप लगानी किन गर्ने भन्ने अवस्थामा एनसेल पुगेको कँडेलको टिप्पणी थियो । प्राधिकरणका उपनिर्देशक डा. प्रदीप पौड्यालले समेत प्राधिकरणको रेकर्ड हेर्दा कम्पनीले पहिले जस्तो उपकरण आयात नगरेको अवस्थामा पूर्वाधार निर्माण र लगानी कार्य नभइरहेको विषयमा नै जोड दिए ।

“त्यसले गर्दा मोबाइल सेवाको गुणस्तरमा समस्या आएको जनगुनासो समेत आइरहेको छ,” उनले अगाडि भने, “घर छोड्नुपर्ने अवस्थामा कसले पो नयाँ पर्दा किनेर राख्छ र ? बरु भएकै पर्दा पनि साथमा लिएर जान बेर लगाउँदैन मान्छेले ।”  

तर एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले पछिल्लो समय लगानी नगरेको भन्ने विषय सही नभएको बताए । उनले भने, “लगानी टावरमा मात्रै हुँदैन, डेटा सेन्टर र आईटी इकोसिस्टम विकासको क्षेत्रमा कम्पनीले लगानी गरिरहेको छ । त्यसैले कम्पनीले थप लगानी गर्न छोडेको भन्ने विषय सत्य होइन ।”

पछिल्लो अध्यावधिक: जेठ ४, २०८० १३:५७