close

नेपाली बजारमा ‘नेटा भी’ पछि ‘नेटा यू प्रो’ विद्युतीय कार आउँदै, अधिकतम रेन्ज ६१० किमि

टेकपाना टेकपाना

जेठ ४, २०८० १७:१५

नेपाली बजारमा ‘नेटा भी’ पछि ‘नेटा यू प्रो’ विद्युतीय कार आउँदै, अधिकतम रेन्ज ६१० किमि

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता होजन अटोको 'नेटा यू प्रो' नेपाली बजारमा आउने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले यो मोडेलको विद्युतीय कार नेपाल भित्र्याउन लागेको हो ।

अहिले आयातका लागि आवश्यक सम्पूर्ण प्रक्रियामा काम गरिरहेको र प्रक्रिया सकिएपछि आयात हुने कम्पनीको भनाइ छ ।

"आयात गर्दा आवश्यक पर्ने सम्पूर्ण कानूनी प्रक्रियामा काम गरिरहेका छौं," टेकपानासँग कुरा गर्दै सीजी मोटर्स स्रोतले भन्यो, "सबै प्रक्रिया सम्पन्न भएको खण्डमा २०२३ को अन्त्यसम्म नेटा यू प्रो नेपाल आइपुग्छ ।"

सीजी मोटर्सले आफ्नो वेबसाइटमा नेटा यू प्रोलाई लिस्टिङ गरिसकेको छ ।

नेपाल आउन लागेको नेटा यू प्रो छ ओटा भर्सनमा उपलब्ध हुनेछ, जसमध्ये ४०० भर्सन, ४०० प्रो भर्सन, ५०० भर्सन, ५०० प्रो भर्सन, ६१० भर्सन र ६१० प्रो भर्सन रहेको छ ।

नेटा यू प्रोको लम्बाइ ४५३० मिलिमिटर, चौडाइ १८६० मिलिमिटर र उचाइ १६२८ मिलिमिटर रहेको छ । त्यस्तै कारको ह्वीलबेस २७७० मिलिमिटर रहेको छ ।

एनईडीसी टेस्ट साइकलका अनुसार याे गाडीको अधिकतम रेन्ज ६१० किलोमिटरसम्म छ । त्यस्तै यसको ग्राउन्ड क्लियरेन्स १६० मिलिमिटर रहेको बताइएको छ ।

नेटा यू प्रोमा 'फापा' अर्थात् फुल्ली अटोमेटिक पार्किङ असिस्टेन्ट सिस्टम छ ।

लिकार्कोका अनुसार यसमा ८८.५७ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री हुनेछ । यसलाई सात किलोवाटको एसी चार्जरबाट साढे १० घण्टामा फूल चार्ज गर्न सकिन्छ भने १५० वाटको डीसी चार्जरले आधा घण्टामा फुल चार्ज गर्न सकिनेछ ।

याे गाडीले प्रतिघण्टा १५० किलोमिटर टप स्पीड दिने बताइएको छ ।

गाडीमा यात्री सुरक्षाका लागि एडाप्टिभ क्रुज सिस्टम, फवार्ड कोलाइजन वार्निङ (एफसीडब्लू), अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम (एईभी), लेन डिपार्चर वार्निङ (एलडीडब्लू), एक्टिभ लेन किपिङ (एएलके), ट्राफिक साइन रिकग्निसन (टीएसआरसी), ट्राफिक जाम असिस्ट (टीजेए) जस्ता फिचर रहनेछन् ।

त्यस्तै यो गाडी स्न्यापड्रागन ककपिट प्लेटफर्मको जेन थ्रीद्वारा सञ्चालित हुनेछ, जसमा एआई भ्वाइस कन्ट्रोलको सुविधा पनि दिइनेछ । यसको मूल्य भने कम्पनीले खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८० १७:२९