close

यस्तो छ ३० हजार मूल्य पर्ने ‘सामसङ ग्यालेक्सी ए२४’ स्मार्टफोन

उष्मा अधिकारी

जेठ १६, २०८० १६:१७

काठमाडौं । ३० हजार रुपैँयामा फ्ल्यागशिप फोनको जस्तो लुक्स । मिडरेन्ज फाेनमा भएजस्तो फिचर । बजेट थोरै छ, तर दुई-चार वर्षका लागि काम चल्ने स्तरीय फोन किनौं भन्ने लागेको छ भने सामसङ ग्यालेक्सी ए२४ एउटा राम्रो विकल्प बन्नसक्छ ।

यो फाेनको पछाडिपट्टि हेर्ने हो भने लगभग सामसङ ग्यालेक्सी एस२३ जस्तै देखिन्छ । तीन ओटा क्यामेरा लेन्स, अनि एउटा फ्ल्याश लाइट, क्यामेरा ढाक्ने कुनै बम्प वा सर्फेस राखिएको छैन, जसले गर्दा प्रिमियम लुक्स त देखिन्छ नै, साथमा मलाई एकदमै छरितो र स्मुथ पनि लाग्यो ।

यसको पछाडि shining hard plastic finishing छ । फ्रेम पनि प्लास्टिककै हो । जसको दायाँ भागमा सिम कार्ड स्लट, जहाँ हामीले आवश्यकता अनुसार दुई ओटा वटा सिम कार्ड र १००० जीबीसम्मको माइक्राे एसडी मेमाेरी कार्ड राखेर स्टाेरेज बढाउन सक्छौं ।

दायाँ भागमा हेर्ने हो भने फिङ्गरप्रिन्ट सेन्सर सहितको पावर बटन छ । जसलाई हामीले डबल प्रेस गर्ने हो भने क्यामेरा वा अरु कुनै एप्लिकेसन खुल्ने बनाउन पनि मिल्छ । त्योभन्दा माथि भाेल्युम अप डाउन बटन देख्न सकिन्छ ।

त्यसैगरी फोनको तल स्पिकर, यूएसबी-सी पाेर्ट, माइक्राेफाेन, ३.५ एमएमकाे हेडफाेन ज्याक पाेर्ट छ । धेरै स्मार्टफाेनबाट रेडियाे र यो पोर्ट गायब हुन थाले पनि सामसङले यो फोनमा दुवै कुरा दिएको छ । त्यसैले रेडियाे  सुन्न मन पराउनेका लागि यो एउटा प्लस प्वाइन्ट हुनसक्छ । 

यत्तिको फोनलाई स्लिम नै मान्न सकिन्छ, जसको तौलको कुरा गर्ने हो भने चाहिँ १९५ ग्राम छ । भन्नुको मतलब बोक्दा हलुका नै छ । यो लाइम ग्रिन कलरकाे फोन हो । यसको अलावा ब्ल्याक वा सिल्भर कलरमा पनि यो किन्न पाइन्छ । 

अब स्क्रिनकाे कुरा गरौं । यसमा भएको यो स्क्रिन ६.५ इन्चकाे सुपर एमाेडेल स्क्रिन हो, जसमा १००० निट्सको ब्राइटनेस दिइएको छ । जुन चाहिँ तुलनात्मक रुपमा हेर्ने हो भने यो फोनको अब्बल पक्ष नै मान्न सकिन्छ ।

हजार निट्सको ब्राइटनेस हुँदाको फाइदा भनेको चर्को घाममा हुनुहुन्छ भने पनि मोबाइलको स्क्रिन स्पष्ट देखिन्छ । धेरै ब्राइट स्क्रिन हुनुका केही फाइदासँगै बेफाइदा पनि छन् । यसले एक त माेबाइलको ब्याट्री चाँडो सकाइदिन्छ भने अर्को आँखालाई असर गर्छ ।

यो कुरालाई बुझेर सामसङले यो मोबाइलमा Eye Care का लागि विभिन्न अप्सनहरू उपलब्ध गराएको छ । साथमा ब्लु लाइटलाई एकदमै न्यून गरिएको र ब्याट्री कन्जम्पसनलाई पनि अप्टिमाइज गरेर घटाइएको कम्पनीले दाबी गरेको छ । 

यद्यपि फोनको डिस्प्ले बेजललेस भने हुनसकेको छैन । यसको Screen to body ratio 82.4% छ, जुन सन् २०२१ मा सार्वजनिक भएको ए२२ भन्दा कम हो । त्यसैले यो फोनमा बेजल्सहरु चाहिँ राम्रैसँग नाेटिस हुन्छ ।

क्वालिटी र कलरकाे हिसाबले डिस्प्ले स्तरीय नै छ । साेसल मिडिया चलाउनका लागि होस् वा भिडिओ हेर्न अथवा मल्टिटास्क र गेमहरू खेल्नका लागि नै किन नहोस्, अधिकांश कामका लागि स्क्रिन ‘पर्फेक्ट’ छ । 

फोनमा भएका फिचरहरुको कुरा गर्ने हो भने यसमा ब्लुटुथकाे पछिल्लाे भर्सन ५.३  छ । जुन सुरक्षा र इन्टरफेसका हिसाबले अझै राम्रो छ । त्यस्तै २.४ र ५ गिगाहर्ज दुवै Wifi यसले सपाेर्ट गर्छ । तर यो फाइभजी फाेन भने होइन । 

त्यस्तै सामसङको ग्यालेक्सी फाेनमा Quick Share, Secure Folder, Smart View Modes, Routines, ARZone, Multi Window, Samsung Heath, Smart thing, knox security लगायतका फिचर हुन्छन् । नाेटिफिकेसन बारबाटै हामीले धेरैजसो फिचरको उपयोग गर्न सक्छौं । 

फोनलाई आफु अनुकुल बनाउन कस्टमाइजेसनका थुप्रै अप्सनहरू छन् । त्यस्तै विजेटहरू पनि पर्याप्त मात्रामा उपलब्ध छन् । डिस्प्लेभित्र गएर हेर्ने हो भने डिस्प्ले लाइट वा डार्क बनाउनेदेखि Screen Refresh Rate, Eye comfort shield, easy mode, edge panel,Accidental touch protection, touch sensitivity लगायतका अप्सन देखिन्छन् । स्क्रिन रिफ्रेस रेट यसमा ९० हर्जकाे मात्रै छ, जुन तुलनात्मक रुपमा हेर्ने हो भने चाहिँ अलि कम नै हो । 

यसबाहेक Edge Panel भएकाले एउटै स्क्रिनमा मल्टिटास्क गर्न एकदमै सजिलो बनाएको छ । दुईवटा मात्रै होइन चार पाँचवटा एप्लिकेसन एउटै स्क्रिनमा चलाउँछु भन्ने हो भने त्यो पनि यो फोनमा सम्भव छ ।

यस्तै Smart Lock सँगै Always on Display जस्ता फिचरको अनुभव पनि यो फाेनबाट लिन सकिन्छ । यदि कल रेकर्ड गर्नुपर्ने छ भने यसमा इन-बिल्ट रूपमा नै कल रेकर्ड गर्ने अप्सन छ ।

यस्तै यसमा भएको Maintenance Mode पनि मलाई युनिक नै लाग्यो । ​फोन बिग्रेर बनाउन लैजाँदा यो माेड अन गरेको खण्डमा आफ्ना फाइल वा डेटा सुरक्षित राख्न यसले सहयोग पुर्‍याउँछ । हेर्दा र सुन्दा सामान्य लागे पनि अहिले मैले चर्चा गरेका कतिपय फिचर ४०, ५० हजार माथिका फोनमा मात्रै उपलब्ध हुन्छन् । त्यसैले मूल्य अनुसार यसमा भएका फिचर मलाई सुहाउँदाे नै लागेको छ । 

फोनको क्यामेराकाे कुरा गर्नुपर्दा मुख्य क्यामेरा Optical Image Stabilization (OIS) सहित ५० मेगापिक्सेलकाे छ । OIS भनेको अलि महंगो प्रविधि हो । त्यसैले मिडरेन्ज् वा फ्ल्यागशिप फोनहरुले मात्रै OIS सहितको क्यामेरा अफर गरिरहेका हुन्छन् । त्यसैले यो बजेटमा OIS सहितको क्यामेरा पाउनु फाइदाकै कुरा हो जस्तो लाग्छ ।

यस्तै ५ एमपीको अल्ट्रावाइड क्यामेरा र २ एमपीको माक्राे लेन्स यसमा दिइएको छ । अगाडि सेल्फी क्यामेरा भने १३ एमपीको छ, जसमा सिङ्गल वा ग्रुप फाेटाे खिच्ने अप्सन पनि छ । 

सामसङ फोनको अर्को एउटा विशेषता भनेको OS र Security Update पनि हो । इन्टरनेटमा यो फोनले पनि चार वर्षको OS र पाँच वर्षको Security Update दिन्छ भनेर लेखेको भेटिन्छ । तर सस्तो रेन्जको फोन भएर होला कम्पनीसँग आधिकारिक रुपमा बुझ्दा यो फोनमा २ वर्ष OS र चार वर्ष Security अपडेट उपलब्ध हुने जानकारी पाएका छौं, जुन तुलनात्मक रुपमा राम्रै कुरा हो । तर कम्तीमा तीन वर्षको OS अपडेट भइदिएको भए अझै राम्रो हुने थियो । 

यो फोन एन्ड्राेइड १३ मा आधारित छ र Mediatek Helio G99 चिपसेटद्वारा सञ्चालित छ । Helio G99 octa core processor हो, जसबाट मल्टिमिडिया  र गेमिङबिना कुनै झन्झट मजाले चलाउन सकिन्छ । पब्जी, फ्रिफायर जस्ता गेमहरू normal graphics मा स्मुथली नै चल्छ । 

फोनको स्टाेरेजकाे कुरा गर्नु पर्दा म सँग भएको फोन ६ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टाेरेज भएको हो, जसको मूल्य २८,९९९ रूपैयाँ छ । त्यस्तै फोन ८/१२८ भेरियन्टमा पनि उपलब्ध छ, जसको मुल्य भने ३१,९९९ रूपैयाँ रहेको छ । जो खासै गेमहरू खेल्दैनन्, हेमी एप्लिकेसन प्रयोग गर्दैनन् भने ६ जीबी र्याम भएको फोन किन्दा नै ठीक हुन्छ ।

ब्याट्री क्षमताको कुरा गर्दा यसमा ५००० एमएएचको ब्याट्री छ, त्यसैले एक दिनको लागि जति नै मोबाइल चलाए पनि लगभग टिक्छ । कम्पनीले त दुई दिनका लागि ब्याट्री पुग्छ भनेर प्रचार गरेको देखिन्छ । तर normal use गर्दा मैले चलाएको आधारमा भन्दा झण्डै दुई दिन मजाले ब्याट्री टिक्छ । फाेनमा २५ वाटको फास्ट चार्जिङ दिइएको छ ।

अहिले super fast charging support गर्ने मोबाइलहरू आइसकेका छन् । त्यसैले यो स्लाे नै लाग्न सक्छ । तर ३० मिनेटमा ५० प्रतिशत चार्ज हुन्छ भनेर कम्पनीले दाबी गरेको छ । मैले टेस्ट गर्दा डेढ घण्टा हाराहारीमा यो फोन फुल चार्ज भयाे ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८० १६:३३