काठमाडौं । कर वृद्धिपछि एमजी जेडएस ईभी (डिलक्स) को मूल्य ५० हजार रुपैयाँले वृद्धि भएको छ । एमजीका लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आइतबार नयाँ मूल्य सार्वजनिक गरेको हो ।
यसअघि ५२ लाख ४९ हजार रुपैयाँमा उपलब्ध एमजी जेडएस (डिलक्स)को नयाँ मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेकाे आव २०८०-८१ को बजेटमा ५० देखि १०० किलोवाट क्षमताका विद्युतीय गाडीको भन्सार महसुलमा पाँच प्रतिशत र अन्तःशुल्कमा १० प्रतिशत वृद्धि गरिएको छ ।
त्यससँगै यो सेग्मेन्टका गाडीको मूल्य १५ देखि २० प्रतिशत बढ्ने अपेक्षा थियो । तर, कम्पनीले एमजी जेडएसको मूल्य करिब ०.९५ प्रतिशतले मात्रै वृद्धि गरेको छ ।
टेकपानासँग कुरा गर्दै पारामाउन्टका प्रतिनिधिले पछिल्लो पटक बढेको करको हिसाब गर्नुपर्दा सात आठ लाख रुपैयाँले मूल्य बढ्ने अनुमान गरिएको बताए । “तर, हामीले मुख्य कम्पनीसँग मूल्य घटाउन लगाउनुका साथै मार्जिन कम राखेर ५० हजार मात्रै वृद्धि गरेका हौं,” उनले भने ।
कस्तो छ एमजी जेड एस (डिलक्स) ?
यो मोडेलमा २८० एनएमसम्मको अधिकतम टर्क प्रदान गर्नसक्ने ९९ किलोवाट क्षमताको मोटर र ५१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रीले सिङ्गल चार्जमै ३२० किमि रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । त्यस्तै साढे आठ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको प्रवेग समाउने बताइएको छ ।
यस एसयूभीको ब्याट्रीमा कम्पनीले आठ वर्षको वारेन्टी दिएको छ । सुरक्षाका लागि यसमा छ ओटा एयर ब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्डजस्ता फिचर राखिएका छन् ।
त्यस्तै मनोरञ्जनका लागि प्रिमियम पानोराेमिक सन-रुफ, डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरका लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ दिइएका छन् ।
यसैगरी कि–लेस इन्ट्री तथा स्टार्ट, छ ओटा स्पिकरसहितको थ्रीडी साउन्ड सिस्टम, ड्राइभरका लागि सिक्स वे र फ्रन्ट पेसेन्जरका लागि फोरवे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट र दुई ओटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सिटहरू) पनि गाडीमा पाउन सकिन्छ ।
यस बाहेक यो गाडीमा ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचर राखिएका छन् । यसमा ४७० लिटर बुटस्पेस रहेको छ ।