close

परस्त्रीसँगको अनैतिक सम्बन्ध बिग्रेपछि अश्लील भिडिओ आफन्तको मोबाइलमा पठाउँदा…

टेकपाना टेकपाना

जेठ २८, २०८० १८:५

परस्त्रीसँगको अनैतिक सम्बन्ध बिग्रेपछि अश्लील भिडिओ आफन्तको मोबाइलमा पठाउँदा…

काठमाडौं । अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध कायम गर्ने एक व्यक्तिलाई साइबर ब्यूरोले पक्राउ गरेको छ । सम्बन्ध बिग्रिएपछि अश्लील भिडिओ महिलाका आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोपमा ब्यूरोको टोलीले सुनसरी दुहवी १० का ३५ वर्षीय कुलदिप चौधरीलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत पीडित महिला र चौधरीबीच मित्रता कायम भएको थियो । त्यसपछि उनीहरूबीच भेटघाटको क्रम समेत सुरु भयो । भेटघाटको क्रम र अनलाइन कुराकानीका क्रममा दुवैबीच प्रेम सम्बन्ध झाँगिदै जाँदा गोप्य तथा अश्लील फोटो तथा भिडिओ समेत साटासाट हुन थाल्यो ।

घर गृहस्थीमा लागेकी पीडित महिलालाई चौधरीले अनलाइनमै अश्लील  क्रियाकलाप गर्न बाध्य पार्न थाले । त्यसका लागि आफूसँग रहेका पुराना तस्वीर र भिडिओ सार्वजनिक गर्ने धम्की दिँदै दबाबमा राख्दै गए ।

"मैले धम्कीलाई बेवास्ता गर्दा निजले मलाई थाहा नदिई खिचेर सम्पादन गरी अश्लील बनाएका भिडिओहरू सार्वजनिक रूपमा पोस्ट तथा अपलोड गरिदिने र मेरो श्रीमान लगायत आफन्त साथीहरूलाई समेत सामाजिक सञ्जालको माध्यमबाट पठाइदिने भनि तारन्तार धम्की दिने गरेकोले मलाई निकै गाह्रो भई, सहन नसकी निजलाई सामाजिक सञ्जालहरूबाट ब्लक गरी सम्पर्कबाट टाढा रहने प्रयास गरेकी थिएँ," पीडित महिलाले ब्यूरोमा दिएको उजुरीमा भनिएको छ ।

मोबाइल तथा सबै सामाजिक सञ्जाल सबै माध्यमबाट सम्पर्क विच्छेद गरी उनी बस्न थालेकी थिइन् । तर चौधरीले ह्वाट्सएपमार्फत महिलाका आफन्त तथा साथीभाइहरूलाई उक्त भिडिओ पठाइदिए । त्यसपछि "... मलाई मानसिक तनाव दिई मेरो चरित्रहत्या समेत हुने कार्य गरिरहेको हुँदा कानुन बमोजिम कारबाही गरि पाऊँ," भन्दै पीडित महिलाले ब्यूरोमा उजुरी दिएकी थिइन् ।

प्राप्त उजुरीमाथिको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट खुल्न आएका चौधरीलाई विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसुरमा २९ वैशाखमा मुद्दा दर्ता गरिएको थियो । तर खानतलासी गर्दा फेला नपरेका चौधरी फरार रहेका थिए ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौं मार्फत काठमाडौं जिल्ला अदालतमा फाइल पेश भएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय पकली सुनसरीको सहयोगमा शनिबार सुनसरीबाटै अन्ततः चौधरी पक्राउ परेका हुन् । उनलाई आइतबार मात्रै अदालती कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । 

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८० १३:३४