close

फेसबुकमा विदेशी बनेर मायामा फसाई रकम ठगी गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

असार ११, २०८० ९:४

फेसबुकमा विदेशी बनेर मायामा फसाई रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । विदेशबाट पार्सल पठाउने बहानामा अनलाइन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ परेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पीडितलाई अनलाइनका माध्यमबाट भेटी विभिन्न प्रलोभनमा पारेर पार्सलका नाममा रकम ठगी गर्ने ललितपुरकी ४० वर्षीया चण्डिका पोखरेल पक्राउ परेकी हुन् ।  

उनले सामाजिक सञ्जाल फेसुबक मार्फत आफूलाई बेलायतको नागरिक बताई पीडितलाई साथी बनाएकी थिइन् । उनले आफ्नो नाम एलभिस मार्टिन बताइ म्यासेज मार्फत कुराकानी गरी पीडितलाई फोटो पठाउन लगाई तिमीलाई मन पराउँछु, माया गर्छु भनी फसाएकी थिइन् ।  

यसरी मायाको लोभमा ह्वाट्सएपमा पनि विदेशी नम्बरबाट नै एड गरी नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, उपहार पठाइदिन्छु, सुनका गरगहना, घडी, आईफोन डलर सहितको लगेज पठाई दिएको छु भनी पीडितलाई प्रलोभनमा पारेकी थिइन् ।  

यसपछि आफैले नेपाली नम्बरबाट मेसेज गरेर पीडितको सामान आएको र उक्त सामान प्राप्त गर्न भन्सार रकम, डलर चार्ज लगायतका शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिको खातामा पीडितलाई पटक - पटक रकम जम्मा गर्न लगाएकी थिइन् ।  

यसरी पोखरेलले पीडितबाट ८ लाख ४० हजार रुपैयाँ असुलेको प्रहरीले जनाएको छ । हाल पोखरेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

पछिल्लो अध्यावधिक: असार ११, २०८० ९:४