close

ह्वाट्सएपमा नयाँ फिचर, अब क्यूआर कोड स्क्यान गरेर च्याट हिस्ट्री ट्रान्सफर गर्न मिल्ने

टेकपाना टेकपाना

असार १६, २०८० १५:४

ह्वाट्सएपमा नयाँ फिचर, अब क्यूआर कोड स्क्यान गरेर च्याट हिस्ट्री ट्रान्सफर गर्न मिल्ने

 

काठमाडौं । एउटै अपरेटिङ सिस्टममा चल्ने दुई ओटा डिभाइसबीच ह्वाट्सएप मेसेज र अट्याचमेन्ट ट्रान्सफर गर्न सहज हुने भएको छ । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले फेसबुकमा एक भिडिओ पोस्ट गर्दै च्याट ट्रान्सफर गर्न सकिने फिचर ल्याउने घोषणा गरेका छन् ।

जुकरबर्गका अनुसार पुरानो मोबालइको ह्वाट्सएपमा हुने क्यूआर कोड नयाँ डिभाइसबाट स्क्यान गरी च्याट र फाइलहरू ट्रान्सफर गर्न सकिन्छ । यस्ता च्याट र फाइल ट्रान्सफरका क्रममा इन्क्रिप्टेड हुने ह्वाट्सएपले जनाएको छ । 

हाल पुरानो डिभाइसको ह्वाट्सएपमा भएका च्याट तथा फाइलहरू नयाँ डिभाइसको ह्वाट्सएपमा भण्डारण गर्न केही सकस पर्छ । त्यसका लागि सबैभन्दा पहिले च्याट र फाइल गुगल ड्राइभ वा आईक्लाउडमा ब्याकअप गर्नुपर्छ । त्यही डेटा नयाँ डिभाइसमा डाउनलोड गरी रिकभर गर्न सकिन्छ ।

तर आईक्लाउड वा गुगल ड्राइभ भरिएको छ भने च्याट तथा फाइल ब्याकअप गर्न सकिँदैन । यदि ब्याकअप भएन भने नयाँ डिभाइसमा अकाउन्ट लगइन गर्दा पुरानो च्याट तथा फाइलहरू सबै हराउने समस्या छ । यसैलाई समाधान गर्न ह्वाट्सएपले क्षणभरमै एउटा डिभाइसबाट च्याट हिस्ट्री अर्को डिभाइसमा ट्रान्सफर गर्न सकिने सुविधा ल्याउन लागेको हो । 

कम्पनीका अनुसार सुरुवाती चरणमा यो फिचर एउटै अपरेटिङ सिस्टममा मात्र सपोर्ट हुनेछ । भन्नुको अर्थ एन्ड्रोइडबाट एन्ड्रोइडमा र आईओएसबाट आईओएसमै भन्डारण गर्न सकिनेछ । यदि एन्ड्रोइडबाट आईफोनमा च्याट हिस्ट्री ट्रान्सफर गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गरेर र आईफोनबाट एन्ड्रोइडमा ट्रान्सफर गर्न यहाँ क्लिक गरी प्रक्रियाबारे बुझ्न सक्नुहुन्छ ।

यो फिचर कहिले सार्वजनिक हुन्छ भन्नेबारे ह्वाट्सएपले औपचारिक रूपमा घोषणा गरिसकेको छैन । तर, ह्वाट्सएपको ब्लग साइट डब्लुए बेटा इन्फोमा यो फिचर केही प्रयोगकर्तामाझ परीक्षण गरिरहेको उल्लेख छ । यो फिचर उपलब्ध भइसकेपछि सेटिङमा गई, च्याट अप्सन छानेर त्यहाँ देखिएको च्याट ट्रान्सफरको अप्सनमा ट्याप गरी प्रयोग गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८० १५:४