काठमाडौं । चल्दै गरेको विद्युतीय गाडीबाट अचानक पूरै ब्याट्री प्याक सडकमा खसेको छ । विशेष रूपमा ट्याक्सी तथा राइडशेयरिङ सेवाका लागि तयार पारिएको काओकाओ ६० नामक कारको ब्याट्री प्याक बाटोमा खसेको हो ।
गिले होल्डिङ अन्तर्गत रहेको ब्रान्ड काओकाओ अटोले यसै मार्चमा यो गाडी सार्वजनिक गरेको थियो । भिडिओ हेर्दा काओकाओ ६० कार केही सेकेन्डसम्म ब्याट्री बिनै गुडेको र करिब २० मिटर टाढा पुगेको अनुमान सहजै लगाउन सकिन्छ ।
भिडिओमा ब्याट्री प्याक खस्दा कुनै किसिमको आगलागी भएको भने देखिएको छैन । यो घटना चीनको सिचुवान प्रान्तको चेङ्ग्दूको दोस्रो रिङरोडमा घटेको बताइएको छ ।
काओकाओ अटो ब्रान्डमा सार्वजनिक पहिलो कारको रूपमा रहेको यो ईभीको मूल्य चीनमा एक लाख १९ हजार ८०० युआन (करिब २१ लाख ६० हजार रुपैयाँ) अर्थात १७ हजार ५०० अमेरिकी डलर रहेको छ । एक पटकको फुल चार्जमा ४१५ किमि गुड्ने दाबी गरिएको यो गाडीमा झिक्न तथा फेर्न मिल्ने (स्वाइपेबल) ब्याट्री राखिएको छ ।
ट्याक्सी तथा राइडहेलिङ तथा शेयरिङ व्यवसायीले खरिद गर्न सक्ने यो गाडी सर्वसाधारण ग्राहकले भने किन्न पाउँदैनन् । सार्वजनिक हुँदाका बखत काओकाओले यसलाई राइडहेलिङ व्यवसायका लागि गहन रुपमा कस्टमाइज गरिएको कुरा निकै महत्त्वका साथ अगाडि सारेको थियो ।
यो गाडीको ब्याट्री छ लाख किलोमिटरसम्म सम्म टिक्ने दाबी गरिएको छ । कम्पनीले ६० सेकेन्डभित्र यो गाडीको ब्याट्री झिक्न सकिने बताउँदै आएको छ । जसलाई निकै उत्सुकताका साथ हेरिएको छ ।
जब कि नियो ब्याट्री स्वाइप स्टेसनको पछिल्लो तेस्रो पुस्ताको प्रविधिमा ब्याट्री फेर्न तीन मिनेट लाग्ने गरेको छ ।