close

सामाजिक सञ्जालमा इन्स्पेक्टरले महिलालाई ‘म तिम्रो फिगरको फ्यान हुँ’ भनेपछि...

टेकपाना टेकपाना

असार १९, २०८० २१:८

सामाजिक सञ्जालमा इन्स्पेक्टरले महिलालाई ‘म तिम्रो फिगरको फ्यान हुँ’ भनेपछि...

काठमाडौं । गत मंगलबार ट्वीटर ह्यान्डल ‘अब बोल्ने’ (@bolne_aba) बाट नेपाल प्रहरीलाई मेन्सन गर्दै एउटा ट्वीट गरिएको थियो । उक्त ट्वीटमा महिला (पीडित)ले लेखेकी थिइन्, “सुरक्षा सेवक भएर उनले नेपाल प्रहरीको शक्तिबाट महिलाका लागि असुरक्षाको वातावरण सिर्जना गरिरहेका छन् । कास्कीका पुलिस इन्सपेक्टर ।” 

 

उनले सोही ट्वीटमा चार ओटा स्क्रिनशट राखेकी छन् । जसमध्ये पहिलो स्क्रिनशट साँझ ८ः०३ बजे लिइएको देखिन्छ । उक्त स्क्रिनशटमा 'एस. तिमिल्सिना' नामका इन्स्पेक्टरले वाकिटकीमा बोलेको फोटो पठाइएको देखिन्छ । उक्त फोटोको रिप्लाईमा 'नाइस' लेखेर स्माइली ईमोजीसहित रिप्लाई पठाइएको छ । त्यसपछि फरक एङ्गलबाट खिचिएको अर्को फोटो पठाइएको छ । 

 

 

दोस्रो स्क्रिनशट साँझ ९ः५७ मा लिइएको छ, जसमा इन्स्टाग्रामको 'सुवास९९' युजरनेमबाट ‘ओ डियर’ लेखेर मेसेज पठाइएको छ । सम्भवतः त्यसअघि 'के गर्दै छौं' लेखिएको मेसेज पठाइएको हुनुपर्छ ।

त्यसको जवाफमा यताबाट ‘यसै पल्टिरा..’ भनेर रिप्लाई पठाइएको छ । अनि फेरि सोही आईडीबाट ‘डु यु नो वन थिङ’ (के तिमीलाई एउटा कुरा थाहा छ ) ‘एम फ्यान अफ योर बडी फिगर’ लेखिएको मेसेज पठाइएको छ ।

तेस्रो स्क्रिनशट राति ११ः०१ बजे लिइएको छ, जसमा 'सुवास ९९' युजरनेम भएको आईडीबाट 'डियर कम अन' लेखिएको छ । यताबाट रिप्लाईमा तीन ओटा छिट्टाछुट्टै मेसेज पठाइएको छ, जसमा ‘नो आई वन्ट बी’ ‘आई एम भेरी प्राइभेट अबाउट माई बडी एन्ड मी’ ‘अनेस्ट्ली भन्या हो’ लेखिएको मेसेज पठाइएको छ । यसको अर्थ हुन्छ, ‘अहँ म त्यस्तो हुन्न’, ‘म मेरो शरीर र मेरो बारेमा प्राइभेट छु’ ‘इमानदारीपूर्वक भन्या हो’ ।

त्यसपछि सोही अकाउन्टबाट ‘पिक पठाउन डियर प्लिज’ लेखेर पठाइएको छ । यताबाट रिप्लाईमा ‘कस्तो पिक पठाउनु त नि?’ लेखिएको छ । सुवासको अकाउन्टबाट पुनः ‘विश्वास गर, यो हामीबीच छ…” लेखिएको छ ।

यता पीडितको अकाउन्टको पठाइएको रिप्लाईमा ‘यू आर …..क्लियर अनि मैले पहिल्यै फोटो पठाइसके हैन त ?’ लेखिएको छ । सोही समयमा लिइएको अर्को स्क्रिनशटमा पीडितको अकाउन्टबाट ‘नभेट्या मान्छेसँग अप्ठ्यारो लाग्छ के’ भनेर पठाइएको छ ।  

पुनः सुवास नाम भएका प्रयोगकर्ताको अकाउन्टबाट ‘कम अन डियर…..इट्स बिट्विन अस…ट्रस्ट मि….’, ‘आई ह्याभ ड्यु रेस्पेक्ट टुवार्ड्स यू’ लेखेर पठाइएको छ ।”

यता पीडित भनिएको अकाउन्टबाट लेखिएको छ, “मैंले तपाईंलाई कसरी विश्वास गर्ने ? कैले भेट्या छैन अनि’ लेखिएको छ ।

सोही मेसेजको रिप्लाई दिँदै सुवासको अकाउन्टबाट ‘प्रमिस….इट्स बिट्विन अस…मेरो क्लासले पनि दिँदैन नि तिमीलाई बिट्रे गर्ने’ लेखिएको छ ।

यो भनाइको अर्थ हुन्छ, ‘विश्वास गर, यो हामीबीच मात्र हुनेछ । मेरो स्तरले पनि तिमीलाई धोका दिँदैन नि,” हुन्छ । त्यस लगत्तै लेखिएको छ, ‘तिमी भिडिओ कलमा बढी कम्फर्ट फिल गर्छौं ?’ र त्यसभन्दा तल ‘डियर कम अन’ लेखिएको छ । 

उक्त ट्वीटको स्क्रिनशट सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । 

के भन्छ प्रहरी ? 

प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भने, “याे घटना सार्वजनिक भएपछि छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउने काम भइरहेको छ ।” 

त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले ट्वीटरमा स्क्रिनशट आएपछि थाहा भएको र छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउने काम भइरहेको जानकारी दिए । “ट्वीटरबाट हामीलाई जानकारी भएको हो,” प्रहरी उपरीक्षक बिकले भने, “सत्यतथ्य बाहिर ल्याउन डीएसपी प्रकाश दाहालको अध्यक्षतामा छानबिन समिति गठन भएको छ ।”

यससँगै ट्वीटरमा सुवास तिमिल्सिनाले बुझाएको निवेदनको स्क्रिनशट पनि भाइरल छ । उक्त निवेदन २०७९ चैत २६ गते जिल्ला प्रहरी कास्कीलाई लेखेर पठाइएको छ । निवेदनमा निवेदक सुवास तिमिल्सिनाले इन्टाग्राम ह्याक भएको र त्यसैबाट आफन्तलाई अश्लील मेसेज गइरहेको उल्लेख गरेका छन् । 

“मेरो अकाउन्ट ह्याक भयो भनेर सुवासजीले निवेदन दिनुभएको थियो । कहिले ह्याक भएकाे भन्ने खुलेको छैन । छानबिन समितिले के निष्कर्ष निकाल्छ, त्यसैमा भर पर्छ,” उनले भने । 

अहिले मेसेज आएको भनिएको इन्स्टाग्राम अकाउन्टको लिङ्क परिवर्तन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८० २१:२६