close

बगभी प्लेटफर्ममा जोडियो प्रोग्रामिज, एउटा बग पत्ता लगाउँदा २५ हजारसम्म कमाउन सकिने

टेकपाना टेकपाना

असार २८, २०८० १२:२९

बगभी प्लेटफर्ममा जोडियो प्रोग्रामिज, एउटा बग पत्ता लगाउँदा २५ हजारसम्म कमाउन सकिने

काठमाडौं । अनलाइन प्रोग्राम सिकाउने नेपाली प्लेटफर्म प्रोग्रामिजले बग बाउन्टी कार्यक्रम सार्वजनिक गरेको छ । साइबर सुरक्षा कम्पनी बगभीसँग सहकार्य गर्दै प्राेग्रामिजले याे कार्यक्रम सार्वजनिक गरेको हो । 

यसअन्तर्गत बग हन्टर (वेबसाइट तथा एपमा भएका सुरक्षा कमजोरी पत्ता लगाउने व्यक्ति) ले प्रोग्रामिजको वेबसाइट तथा एपमा कमजोरी भेटाए वापत पुरस्कार स्वरूप प्रति बग १० देखि २०० अमेरिकी डलरसम्म (लगभग २५ हजार रुपैयाँ) पाउने बगभीका संस्थापक तथा सीईओ नरेश लामगादेले बताए ।

यसमा बगभीले बग रिपोर्ट गर्ने प्लेटफर्म उपलब्ध गराएर मध्यस्तकर्ताको भूमिका निभाएको छ । त्यस्तै बग रिपोर्ट गर्नेलाई बगभीले रिवार्ड (पुरस्कार) उपलब्ध गराई सहजीकरण गर्ने लामगादेको भनाइ छ । 

“प्रोग्रामिज, हामीसँग सहकार्य गरेर बग बाउन्टी कार्यक्रम सार्वजनिक गर्ने ५२ औं कम्पनी हो,” लामगादेले भने, “यस बग बाउन्टी कार्यक्रम अन्तर्गत जोकोहीले प्रोग्रामिजको वेबसाइट तथा एपमा बग पत्ता लगाएर त्यसलाई हाम्रो साइटबाट रिपोर्ट गर्न सक्नेछन् ।”

बग पत्ता लगाउने इच्छुक ह्याकरले यहाँ क्लिक गरी रजिस्टर गर्नुपर्ने हुन्छ । व्यक्ति भए व्यक्तिका रूपमा र कम्पनी भए कम्पनीका रूपमा रजिस्टर गर्ने विकल्प दिइएको छ । त्यसपछि आफूले पत्ता लगाएका बग बगभीमार्फत रिपोर्ट गर्न सकिन्छ ।

कम्पनीले उक्त बग रिपोर्ट प्रोग्रामिजलाई पठाउँछ । त्यसपछि बग पुष्टि भएको खण्डमा रिपोर्ट गर्नेले बग अनुसारको रिवार्ड पाउनेछन् । त्यसबाहेक पनि बग हन्टरले अन्य विभिन्न अवसर पाउने लामगादेले बताए । 

परेवा ल्याब्स प्रालि अन्तर्गतको प्रोग्रामिजमा हाल पाँच करोड बढी प्रयोगकर्ता भएको बताइएको छ ।

एन्ड्रोइडमा प्राग्रामिजको एप पाँच लाख पटक डाउनलोड भइसकेको छ । प्रोग्रामिजको एन्ड्रोइड एप यहाँ क्लिक गरेर र आईओएस एप यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: असार २८, २०८० १२:३४