close

भोलिदेखि विद्यार्थीले बनाएका स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना गर्दै सफ्टवेरिका, प्रवेश निःशुल्क​

टेकपाना टेकपाना

साउन १०, २०८० १०:१२

भोलिदेखि विद्यार्थीले बनाएका स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना गर्दै सफ्टवेरिका, प्रवेश निःशुल्क​

काठमाडौं । आईटी तथा ईकमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजको आयोजनामा स्मार्ट प्रविधिको प्रदर्शनी हुने भएको छ । भोलि बिहीबारदेखि डिल्ली बजार काठमाडौं स्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी सुरु हुने भएको हो । 

आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने आयोजकले जनाएको छ । प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्ने कार्यक्रम छ । 

प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका एआई र साइबर सुरक्षा क्षेत्रका विभिन्न प्रोजेक्टहरू समेत गरी ३० भन्दा बढी स्टलहरू रहने छन् । जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) देखि होम सेक्युरिटीसहित घरमा  अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टमसम्मका नवप्रवर्तनात्मक सिर्जनाहरू अवलोकन गर्न पाइने छ ।

यसैगरी कोलोनीका लागि आगलागी सम्बन्धी सूचना दिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजन एग्रिकल्चर सम्बन्धी प्रोजेक्ट समेत प्रदर्शनीमा राखिने छन् ।

यस बाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् ।

स्मार्ट फोहोर व्यवस्थापन प्रणाली, अण्डा कोरल्ने स्मार्ट सिस्टम, स्मार्ट डुङ्गा, स्मार्ट हाइड्रोपोनिक, सर्भिलेन्स मिलिट्री रोबोट लगायतका नवीनतम परियोजना समेत प्रदर्शनीमा देखिने छन्  ।

यही साउन ११–१४ सम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजे सम्मको अवधिमा निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ । बेलायतको कोभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस कलेजमा इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी, कम्प्युटिङ, डेटा साइन्स तथा कम्प्युटेसनल इन्टेलिजेन्स लगायतका विषयको अध्यापन हुने गरेको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू सार्वजनिक गर्न हरेक वर्ष यस्तो प्रदर्शनी आयोजना हुँदै आएको छ । आईओटी एक्स्पोको रुपमा परिचित सफ्टवेरिका कलेजको प्रदर्शनी यस पटक भने टेक एक्स्पोको नाममा प्रस्तुत गर्न लागिएको हो ।

 

पछिल्लो अध्यावधिक: साउन १०, २०८० १०:१२