काठमाडौं । गत वर्ष बेटा भर्सनमा सार्वजनिक भएको 'गुगल प्ले स्टोर फर पीसी'लाई गुगलले १२० देशमा विस्तार गरेको छ । मोबाइलमा खेलिने एन्ड्रोइड गेमलाई विन्डोज कम्प्युटरमा पनि खेल्न मिल्ने बनाउँदै गुगलले याे फिचर ल्याएकाे थियाे । कम्पनीले याे सुविधा एसिया, युरोप, ल्याटिन अमेरिका लगायत अन्य क्षेत्रका १२० भन्दा बढी देश विस्तार गरेकाे जानकारी दिएको छ ।
गुगलका अनुसार पीसी एपमा कुकी रन: किङडम, एभरसोल, समनर्स वार, होमस्केप्स, इभोनी: द किङ्ग्स रिटर्न, कल अफ ड्रागन, आर्कनाइट्स जस्ता सयौं खेल उपलब्ध गराइएको छ । साथै १० करोड बढीले डाउनलोड गरेको फायर म्याक्स गेमलाई नि:शुल्क उपलब्ध गराउने पनि गुगलले जनाएको छ । यो एक एक्सन गेम हो । हाल यो गेम प्ले स्टोरको शीर्ष कमाइ गर्ने सूचीको आठौं स्थानमा छ ।
योसँगै गुगलले किबोर्ड रिम्यापिङ (keyboard remapping फिचर पनि थपेको छ । यसबाट खेलाडीहरूले खेल खेल्नका लागि आफ्नो कन्ट्रोल कीलाई आफू अनुसार परिमार्जन गर्न सक्ने छन् ।
कम्प्युटरमा गुगल प्ले स्टोरमा खेलहरू खेल्न विन्डोज १०, कम्तीमा १० जीबी स्टोरेज, ८ जीबी र्याम, ४ फिजिकल सीपीयू कोर र गेमिङ क्लास जीपीयू आवश्यक पर्छ ।
एन्ड्रोइड गेमलाई पीसीमा पनि खेल्न मिल्ने बनाउनुको उद्देश्य गुगल प्ले गेम्सलाई धेरै खेलाडीहरूसम्म पुर्याउनु रहेको छ । एन्ड्रोइड गेममा रुचि भएकाले यहाँ क्लिक गरी आफ्नो कम्प्युटरमा गुगल प्ले गेम्स डाउनलोड गर्नसक्ने छन् ।