close

भारतमा फ्रि फायरमाथिको प्रतिबन्ध फुकुवा ! नेपालमा पनि फर्केला गुमेको क्रेज ?

टेकपाना टेकपाना

साउन १४, २०८० १९:५७

भारतमा फ्रि फायरमाथिको प्रतिबन्ध फुकुवा ! नेपालमा पनि फर्केला गुमेको क्रेज ?

 

काठमाडौं । भारतले गरिना फ्रि फायरमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने सङ्केत दिएको छ । त्यसो त भारतले फ्रि फायरमाथि प्रतिबन्ध लगाएको कुरा आधिकारिक घोषणा भने गरेको छैन ।

यद्यपि भारतमा फ्रि फायर गेमलाई अचानक प्ले स्टोरबाट हटाइएको थियो । तर यो गेमको म्याक्स भर्सन फ्रि फायर म्याक्स भने प्ले स्टोरबाट डाउनलोड गरेर खेल्न रोकिएको थिएन । 

अचानक प्ले स्टोरबाट फ्रि फायर गेम गायब भए यता भारतमा कुनै पनि आधिकारिक प्रतियोगिता आयोजना गरिएको थिएन । अब भने प्रतियोगिताहरू पुन: सञ्चालन हुने सङ्केत मिलेको छ । 

भारतको उत्तर प्रदेश राज्यका एक राजनीतिज्ञ गिरिशचन्द्र यादवले ट्वीट गर्दै फ्रि फायरको मातृ कम्पनी गरिनासँग ई-स्पोर्ट्सको विकासका लागि सम्झौता भएको जानकारी दिएका हुन् । 

उनको ट्वीटमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहित गरिनाका कर्मचारी र अन्य केही व्यक्तिसँगको फोटो समेत देख्न सकिन्छ ।

एक भारतीय युट्युबरले समेत यस विषयमा गरिनासँग सम्पर्क गरी प्रदेशसँग सम्झौता भएको प्रमाणित गर्ने स्क्रिनशट सार्वजनिक गरेका छन्  । यसै विषयमा उत्तर प्रदेशको खेलकुद तथा युवा कल्याणका अतिरिक्त मुख्य सचिव नवनीत सहगलको भिडियो पनि सार्वजनिक भएको छ । 

जसमा गरिनासँग भएको सम्झौताको बारेमा उनले बताइरहेका छन् । यो सम्झौताले केही हदसम्म भारत सँगसँगै नेपालमा पनि फ्रि फायर ई-स्पोर्ट्स पुन: लयमा फर्किने सम्भावना देखाएको छ ।

भारतमा फ्रि फायर ई-स्पोर्ट्स बन्द भए यता नेपालमा पनि फ्रि फायर गेमको क्रेज निकै नै कम भएको छ ।

पछिल्लो अध्यावधिक: साउन १४, २०८० १९:५७