close

क्यूआर भुक्तानीको एसएमएस कुर्नु नपर्ने गरी नेपालमै पहिलो पटक एससीटीले ल्यायो एलईडी बोर्ड

टेकपाना टेकपाना

साउन १४, २०८० २०:२४

क्यूआर भुक्तानीको एसएमएस कुर्नु नपर्ने गरी नेपालमै पहिलो पटक एससीटीले ल्यायो एलईडी बोर्ड

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले क्यूआर भुक्तानीको अलर्ट (जानकारी) रियल टाइम (तत्कालै) प्राप्त गर्न सकिने एलईडी बोर्ड ल्याएको छ । आफ्नो स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूका लागि कम्पनीले यस्तो प्रविधि सार्वजनिक गरेको हो ।

क्यूआरमार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भए पछि कारोबार सम्पन्न भएको जानकारीको लागि कुर्नुपर्ने बाध्यता छ । टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस प्राप्तिमा ढिलाई हुँदा तथा कहिले कहीँ एसएमएस प्राप्त नहुँदा मर्चेन्टहरूलाई कारोबार पूरा भएको यकिन गर्न कठिन भइरहेको हुन्छ ।

साथै ग्राहकहरूको चाप धेरै भएको मर्चेन्ट लोकेसनमा एसएमएसमार्फत कारोबारको यकिन गर्दा समय खेर जाने समस्या पनि उस्तै छ । एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुवैलाई अप्ठ्यारो परिरहेको हुन्छ ।

त्यसो त एससीटीले आफ्ना मर्चेन्टलाई मोबाइल तथा वेब लगइनमार्फत कारोबार हेर्न, पैसा जम्मा तथा फिर्ता गर्न मिल्ने सुविधा सुरुवाती समयदेखि नै दिँदै आइरहेको छ । धेरै कारोबार हुने ठाउँहरूमा सोही अलर्ट प्राप्तिकै लागि मोबाइल तथा वेब लगइन गरिराख्न समेत झन्झटिलो तथा समय खर्चिनु पर्ने परिस्थिति उत्पन्न भइरहेको हुन्छ ।

अब भने एलईडी स्क्रिनमा कारोबार सम्पन्न भए लगत्तै त्यसको रकम देखिने हुँदा सहजै यकिन गर्न सकिने छ । कम्पनीका अनुसार एलईडी स्क्रिन जडान गर्न सजिलो र सरल रहेको छ ।

यसलाई एससीटीको मोबाइल एप्लिकेसनबाट सजिलै कन्फिगर गर्न सकिन्छ । स्मार्ट क्यूआरमा आबद्ध बैङ्क तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वालेट कम्पनीबाट स्मार्ट क्यूआरमा दर्ता भएका कुनै पनि मर्चेन्टहरूले यो सुविधा लिन सक्नेछन् ।

मोबाइल एपबाटै नेटवर्क तथा स्क्रिनको ब्राइटनेश मिलाउन सकिन्छ । स्क्रिनमै कारोबारको रकम देख्न सकिने भएकाले भिडभाड तथा हल्लाखल्ला हुने ठाउँमा यो प्रविधि निकै नै उपयोगी र प्रभावकारी हुने बताइएको छ ।

पाथीभरा सेन्सर सोलुसनसँगको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजीले यो सेवा सुरु गरेको हो।  सेवा लिन इच्छुक ग्राहकले स्मार्ट क्यूआरमा आबद्ध बैंक तथा वालेटमा गई यो सुविधाको लागि आवेदन दिन सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: साउन १४, २०८० २०:२४