काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग र टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कको भिडन्त एक्समा प्रत्यक्ष प्रसारण हुने भएको छ । आइतबार एक्समा पोस्ट राख्दै मस्कले जुक (जुकरबर्ग) र आफ्नो लडाइँको लाइभ एक्समा प्रसारण हुने जानकारी दिएका हुन् ।
“जुक र मस्कको लडाइँ एक्समा प्रत्यक्ष प्रसारण गरिनेछ,” उनले लेखेका छन्, “यसबाट हुने सबै आय दिग्गजहरूको परोपकारमा जानेछ ।” त्यस्तै पछिल्लो समय आफू दिनहुँ फाइटको तयारीका लागि वेट लिफ्टिङ गरिरहेको समेत उनले बताएका छन् ।
“दिनभर वेट लिफ्टिङ गरेर लडाइँको तयारी गर्दैछु,” उनले अर्को पोस्टमा लेखेका छन्, “कसरत गर्न समय छैन, त्यसैले म उनीहरूलाई काममा ल्याउँछु ।” पछिल्लो समय मस्क र जुकरबर्गबीचको केज फाइट (रिङभित्र खेलिने कुस्ती) को निकै चर्चा हुने गरेको छ ।
Zuck v Musk fight will be live-streamed on 𝕏.
— Elon Musk (@elonmusk) August 6, 2023
All proceeds will go to charity for veterans.
कुस्ती भिड्न मस्कले जुकरबर्गलाई लोकेसन पनि पठाएका थिए । तर, त्यस लगतै जुकरबर्गले गत महिना ट्वीटर (हाल एक्सले चिनिने एप) को प्रतिद्वन्द्वी प्लेटफर्म थ्रेड्स सार्वजनिक गरे । त्यसलाई नै उनीहरूबीचको वास्तविक लडाइँ भएको सामाजिक सञ्जाल प्रयोगकर्ताको बुझाइ थियो ।
त्यसको केही समयसम्म शान्त रहेको केज फाइटको प्रसंग मस्कको ट्वीटले पुनः सतहमा ल्याएको छ । यद्यपि फाइट कहिले हुन्छ भन्नेबारे कुनै स्पष्ट जानकारी बाहिर आएको छैन ।
पछिल्लो अध्यावधिक: साउन २१, २०८० १६:१४
