close

कारबाहीमा पर्न थाले स्मार्ट क्यामेरामा ५० किमि/घण्टा माथिको स्पिड डिटेक्ट हुने सवारी

टेकपाना टेकपाना

साउन २१, २०८० १७:५५

कारबाहीमा पर्न थाले स्मार्ट क्यामेरामा ५० किमि/घण्टा माथिको स्पिड डिटेक्ट हुने सवारी

काठमाडौं । निर्धारित गतिभन्दा बढी स्पिडमा गुडेका सवारी पहिचान गर जडान गरिएका अत्याधुनिक स्मार्ट क्यामेराबाट प्राप्त डेटाको आधारमा ट्राफिक कारबाही हुन थालेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत सोमबारदेखि क्यामेराले पहिचान गरेको ओभर स्पिडको आधारमा कारबाही गर्न थालेको हो । 

गत महिना जडान सुरु गरिएका सर्भिलेन्स क्यामेराको परीक्षण सकिएपछि कारबाही थालिए कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

“हामी कडा रूपमा यो प्रणालीमा गएर कारबाही सुरु गरिहालेको अवस्था छैन,” टेकपानासँग कुरा गर्दै उनले भने, “अहिले हामीले नमूनाको रूपमा सुरुवात गरेका हौं ।  यसबाट ‌ओभर स्पिडमा सवारी चलाउनेमाथि कारबाही गर्ने क्रम सुरु भएको छ ।”

उपत्यकाका विभिन्न तीन स्थानमा जडित अटोमेटिक नम्बर प्लेट रिकग्निजेसन (एएनपीआर) सिस्टम विथ स्पिड डिटेक्सन नामक क्यामेरा जडान गरिएका छन् । ती क्यामेराले ट्राफिक प्रहरीलाई उपलब्ध सवारी चालकको डेटाका आधारमा स्वचालित  र म्यानुअल्ली (प्रहरी आफैले डेटा संकलन गर्ने) डेटा सङ्कलनको काम भइरहेको भट्टले जानकारी दिए । 

“भर्खरै जडान भएकाले जनशक्तिलाई तालिम दिने काम भइरहेको छ,” उनले भने, “अहिले प्राविधिक काम चलिरहेको छ । यातायात व्यवस्था विभागको डेटाबेसमा एक्सेस नभएकाले पूर्ण रूपमा लागु गर्न सकिएको छैन ।”

उनका अनुसार यातायात व्यवस्था विभागको डेटाबेसमा एक्सेस भएपछि भने तोकिएको स्पिडभन्दा बढी गतिमा हाँक्ने सवारीको सम्पूर्ण जानकारी ट्राफिक प्रहरीलाई आउनेछ । हाल सवारीको नम्बर प्लेटको जानकारी प्राप्त हुँदा त्यसलाई म्यानुअल्ली रेकर्डबाट सवारीको डिटेल निकालेर कारबाहीको काम भइरहेको भट्टले बताए । 

यो प्रणाली सुरु भएपछि गति निगरानीका लागि ट्राफिक प्रहरी सडकमै उभिनु पर्दैन । हाल यो प्रणाली कोटेश्वरको भाटभटेनी नजिक, महालक्ष्मीस्थान र धोबीघाटमा जडान भएको छ ।

ट्राफिक प्रहरीका अनुसार चक्रपथ तथा कोटेश्वर-साँगा सडकखण्डमा प्रतिघण्टा ५० किलोमिटर र अन्य भित्रि सडकमा प्रतिघण्टा ३० किलोमिटरभन्दा तीव्र गतिमा सवारी चलाउन नपाइने व्यवस्था छ ।

 

पछिल्लो अध्यावधिक: साउन २१, २०८० १७:५५