close

धनगढीमा सञ्चालनमा आयो नेपाल विद्युत प्राधिकरणको ईभी चार्जिङ स्टेसन

टेकपाना टेकपाना

साउन २१, २०८० १८:३३

धनगढीमा सञ्चालनमा आयो नेपाल विद्युत प्राधिकरणको ईभी चार्जिङ स्टेसन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेश राजधानी धनगढी सहरमा विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा राखिएको चार्जिङ स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हो ।

उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले उक्त चार्जिङ स्टेसनको उद्घाटन गरेकी थिइन् । देशभर चार्जिङ स्टेसन नेटवर्क निर्माण गर्ने प्राधिकरणको योजना अन्तर्गत धनगढीमा चार्जिङ स्टेसन सञ्चालनमा आएको हो ।

यसले सो क्षेत्रमा विद्युतीय सवारी साधनलाई प्रवर्धन गर्ने विश्वास लिइएको छ । चार्जिङ स्टेसनमा १४० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ । जसमा समान ६० किलोवाटका दुई ओटा डीसी चार्जर र २२ किलोवाटको एसी चार्जर राखिएको छ ।

विद्युत प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेसनमा राखिएको क्यूआर कोड स्क्यान गरी मोबाइल एपबाटै रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यी चार्जिङ स्टेसनमा सहयोगका लागि मानिस आवश्यक नपर्ने भएकाले 'म्यान लेस' भन्ने गरिएको छ ।

जहाँ विद्युतीय सवारी चार्ज गर्दा बिहान र बेलुका १० रुपैयाँ ४४ पैसा प्रति युनिट, दिउँसो आठ रुपैयाँ प्रति युनिट राति ११ बजेपछि बिहानसम्म छ रुपैयाँ प्रति युनिट शुल्क तिर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: साउन २१, २०८० १८:३३